आठबिसकोटको प्रभु बैंकबाट करिब १ करोड ३१ लाख रूपैयाँ अपचलन गर्ने निरज बिक्रम पक्राउ


काठमाडौँ । रुकुम पश्चिम आठविसकोट राडी बजारमा रहेको प्रभु बैंकको शाखा कार्यालयबाट पैसा अपचलन गर्ने निरज विक्रम शाहलाई प्रहरीले पक्राउ गरेको छ ।

शाहले प्रभु बैंकमा रहेको आठविसकोट नगरपालिकामा रहको शाखामा अप्रेशनल इन्चार्ज हुँदा आठविसकोट नगरपालिकाको खाताबाट १ करोड ३१ लाख २५ हजार रुपैयाँ अपचलन तथा दुरुपयोग गरेको प्रहरीले जनाएको छ ।

२०८० माघ ७ गते, १७ गते र १९ गते नगरपालिकाको खाताबाट विभिन्न चेक नम्बरबाट क्रमश २९ लाख रुपैयाँ, ७८ लाख ७५ हजार रुपैयाँ र २३ लाख ५० हजार रुपैयाँ पैसा निकालेको प्रहरीले जनाएको छ ।

शाहलाई पक्राउ गर्न उच्च अदालत सुर्खेतले २०८० फागुन १२ गते अनुमती दिएको थियो । उनलाई प्रहरीले २०८० चैत ८ गते बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १५ जमुनाहबाट पक्राउ गरेको हो ।

शाहलाई उच्च अदालत विरेन्द्रनगर सुर्खेतबाट पहिलो पटक ७ दिनको म्याद थप गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।