लगानी सम्मेलनका लागि भवानी राणाका पाँच सुझाव


काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणाले विदेशी लगानी ल्याउनको लागि सरकारले एकद्वार प्रणालीलाई बलियो बनाउन आवश्यक रहेको बताएकी छन् ।

पूर्वअध्यक्ष राणाले सरकारले आगामी वैशाख १६ र १७ गते गर्न लागेको लगानी सम्मेलनमा विदेशी लगानीलाई सहज बनाउनको लागि स्थापना गरिएको एकद्वार प्रणालीलाई बलियो र गतिशिल बनाउन आवश्यक रहेको बताएकी हुन । उनले सरकारले विदेशी लगानीलाई सहज बनाउनको लागि स्थापना गरिएको एकद्वार प्रणालीलाई बलियो बनाउनसके मात्रै विदेशी लगानी सहज रुपमा आउनसक्ने दाबी गरिन् ।

पूर्वअध्यक्ष राणाले विदेशी लगानीकर्ताहरु १० वटा निकायहरुमा धाउनुपर्ने वातावरणको अन्त्य गर्न सरकारलाई सुझाव दिइन । उनले वनका समस्या,उद्योगका समस्या र अन्य मन्त्रालयगत समस्या झनझटबाट मुक्त हुनेगरी विदेशी लगानीलाई एकद्वार प्रणालीमार्फत भित्र्याउने विषयमा सरकारले ध्यान दिनुपर्ने बताइन् ।

उनले विदेशी लगानीका लागि एकद्वार प्रणाली धेरै महत्वपूर्ण भएको उल्लेख गरिन् । उनले विदेशी लगानीकर्ता नेपालमा आउँदा लगानी गर्ने वातावरण बनाउन पनि सुझाव दिइन् । पूर्वअध्यक्ष राणाले लगानीको लागि धेरै सम्भावना नेपालमा भएपनि विदेशी लगानीकर्ताहरु नेपालमा नआएर अन्य देशमा गइरहेको भन्दै विदेशी लगानीकर्तालाई आकर्षण गर्ने विषयमा सरकारले ध्यान दिनुपर्ने बताइन् ।

उनले विदेशी लगानीको वातावरण बनाउनको लागि मुलुकमा स्थिर सरकार र नीति आवश्यकता रहेको उल्लेख गरिन् । उनले विदेशी लगानी आउनको लागि राजनीतिक स्थायित्व पनि आवश्यक रहेको बताइन् । राणाले लगानी सम्मेलनले नेपालमा लगानी गर्ने वातावरण बनेको छ भन्ने आभास विदेशी लगानी कर्ताहरुलाई दिन आवश्यक रहेको उल्लेख गरिन् ।

उनले लगानी सम्मेलन सफल बनाउन सरकारले लगानी सम्मेलन अघि केही नीतिगत समस्याहरु समाधान गर्न आवश्यक रहेको बताउनु भयो । विगतका लगानी सम्मेलनको समिक्षा गर्न आवश्यक रहेको पनि उनको भनाई छ। पूर्वअध्यक्ष राणाले नेपालका उद्योग व्यवसाय र गिरिरहेको निजी क्षेत्रको मनोबल उच्च बनाउने कुरामा प्रमुख प्राथमिकता दिन सुझाव दिइन् ।

राणाले सरकारले स्वदेशी उद्योगहरुलाई महत्व नदिएसम्म र संरक्षण गर्न नसकेसम्म विदेशी लगानी दोस्रो कुरा हुने बताइन् । उनले उद्योग व्यवसाय तथा लगानीको लागि आवश्यक नीतिहरु सम्मेलन अघि संशोधन गर्न आवश्यक रहेको बताइन् । उनले पछिल्लो समय ऊर्जा क्षेत्रले केही फड्को मारेको भन्दै केही वर्षमा जलविद्युतमा आत्मनिर्भर भइ निर्यात गर्ने अवस्थामा पुग्ने बताइन् । स्वदेशी र विदेशी लगानीकर्ताको लागि अफ्ठ्यारा नीतिहरु संशोधन तथा परिमार्जन गरी समय सापेक्ष लगानी सम्मेलन अघि बनाउनुपर्नेमा जोड दिइन् ।

यस्ता छन् पूर्वअध्यक्ष राणाका पाँच सुझाव :

१. सरकारले लगानी सम्मेलन गर्नुपर्छ । लगानी सम्मेलनले नेपालमा लगानी गर्ने वातावरण बनेको छ भन्ने आभास अन्य देशहरुलाई दिनुपर्छ । विगतमा पनि भइरहेका हो । तर सरकारले लगानी सम्मेलन अघि केही नीतिगत समस्याहरु समाधान गर्नुपर्छ । विगतका लगानी सम्मेलन पनि हेरिरहेका छौं । विगतमा कति लगानी आए,के त्रुटीहरु रहेछन् । त्यसको समिक्षा गर्न आवश्यक छ ।

२. नेपालका उद्योग व्यवसाय गरिरहेको निजी क्षेत्रको मनोबल गिरेको अवस्था छ । त्यसलाई कसरी उकास्न सकिन्छ भन्ने कुरा सरकारले सोच्नुपर्छ । किन भने सरकारले जबसम्म स्वदेशी उद्योगहरुलाई सपोट गरेर संरक्षण गर्न सक्दैनौं तबसम्म विदेशी लगानी सेकेण्डरी कुरा हो । मुलुकभित्र भएका उद्योग व्यवसायलाई संरक्षण गरी रोजगारी सिर्जना गरी गर्ने भन्ने कुरामा ध्यान दिनुपर्छ ।

३. उद्योग व्यवसाय तथा लगानीको लागि आवश्यक नीतिहरु संशोधन गर्नुपर्छ । पछिल्लो समय ऊर्जा क्षेत्रले केही फड्को मारेको छ । दुई चार वर्षमा धेरै विद्युत उत्पादन गरिसकेको छौँ । केही वर्षमा जलविद्युतमा नेपाल उत्पादन गरी आत्मनिर्भर भएर निर्यात गर्ने अवस्थामा पुग्छ । तर अहिले लगानी गरेका भारत लगायत अन्य देशका ठूला लगानीकर्ताहरु छन् । उनीहरुको भनाई नेपालको नीतिगत समस्याले गाह्रो भएका कुराहरु छन् । त्यसकारण जलविद्युत क्षेत्रमा अफ्ठ्यारा नीतिहरु छन् । जुन स्वदेशी र विदेशी लगानीकर्ताको लागि अफ्ठ्यारा नीतिहरु संशोधन तथा परिमार्जन गरी समय सापेक्ष लगानी सम्मेलन अघि बनाउनुपर्छ । लगानीकर्ताले तयारी भएका आयोजनाहरु खोज्छन् । सरकारले भएका राम्रा नीतिहरुलाई कार्यान्वयनमा जोड दिनुपर्छ ।

४. विदेशी लगानीलाई एकद्वार प्रणालीमार्फत ल्याउने भनेका छौं । यो प्रणालीमा ल्याउनको लागि प्रणालीलाई बलियो बनाउनुपर्छ । विदेशी लगानीकर्ताहरु १० निकायहरुमा धाउनुपर्ने वातावरण बनाउनु भएन । वनका समस्या,उद्योगका समस्या र अन्य मन्त्रालयगत समस्या रहेकाले विदेशी लगानीलाई एकद्वार प्रणाली मार्फत आवश्यक प्रावधानअनुसार काम गर्ने विषयमा सरकारले ध्यान दिनुपर्छ । विदेशी लगानीका लागि एकद्वार प्रणाली धेरै महत्वपूर्ण छ । मन्त्रालयगत समन्वय गर्न जरुरी छ ।

५. विदेशी लगानीकर्ता नेपालमा आउँदा लगानी गर्ने वातावरण बनाउन आवश्यक छ । लगानीको लागि धेरै सम्भावना नेपालमा भएपनि विदेशी लगानीकर्ताहरु नेपालमा नआएर अन्य देशमा गइरहेका छन् । छिमेकी देश भारतले कति धेरै विदेशी लगानी ल्याइरहेको छ । विदेशी लगानीकर्तालाई के गर्दा स्थिर बनाउन सक्छौं भन्ने कुरामा सरकारले ध्यान दिनुपर्छ । त्यसको लागि स्थिर सरकारको आवश्यकता छ । जुन सरकार स्थिर भएर नीति पनि स्थिर होस् । जुन सुकै सरकार आउँदा पनि यस्तो खालको नीतिमा काम गर्नसक्यो भने अन्तर्राष्ट्रिय देशहरुबाट लगानी आउन सक्छ । किनभने विदेशी लगानीकर्ताले मुलुकको राजनीतिक अवस्थाका बारेमा सोध्ने गर्छन् । विदेशी लगानी आउनको लागि राजनीतिक स्थायीत्व पनि आवश्यक छ । यस्तो भएका स्वदेशी लगानीकर्तामा उत्साह र विदेशी लगानी आउन सक्छ ।