बिमा कम्पनीलाई अनुदान रकम फिर्ता दिन डेरी एसोसिएसनकाे माग


काठमाडौँ । नेपाल डेरी एसोसिएसनले बिमा कम्पनीहरूले राज्यबाट पाउनु पर्ने बिमा अनुदान रकम समयमै भुक्तानी गर्नको लागि सरकारसँग माग गरेको छ ।

पछिल्लो समय बिमा कम्पनीहरूले राज्यबाट पाउनु पर्ने बिमा अनुदान रकम समयमै नपाउँदा किसानहरू मारमा परेको भन्दै एसोसिएसनले तत्काल भुक्तानी गर्न सरकारसँग माग गरेको हो ।

एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले किसानले बेचेको दुधको भुक्तानी समयमा नपाउँदा पशुलाई आहारा, कामदारको तलब, औषधि उपचार आदि निरन्तर खर्च गरिरहनु परेको र पशुको क्षति भएमा यसरी बिमा नहुँदा पशुपालक किसान मारमा पर्ने बताए ।

उनले भने, “यदि राज्यद्वारा बिमा कम्पनीलाई कुनै बक्यौता भुक्तानी गर्न बाँकी भए तुरुन्तै गर्नुपर्छ र यदि कहीँ कतै नीतिगत त्रुटि भए त्यसको हल गरी किसानले पाउने सुविधा निरन्तर बिना झन्झट उपलब्ध गराइनु पर्छ ।”

एसोसिएसनले संकटकाे अवस्थामा पेशामा टिकाई राख्न राज्यको पनि दायित्व भएकाले किसानले पाउनुपर्ने बिमा सुविधा तत्काल उपलब्ध गराई बीमा कम्पनीहरूलाई पशुबिमा र कृषि बिमा गराउने व्यवस्था मिलाउनुपर्ने बताएको छ ।