‘बजारमा माग बढाउन सरकारको सहयोग आवश्यक’


काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशको अर्थतन्त्रको बाह्य क्षेत्र सन्तुलित भए पनि बजारमा माग कम भएकाले अर्थतन्त्र चल्न नसकेको बताएका छन् । उनले बजारको माग बढाउन सरकारले सहयोग गर्नु पर्ने बताएका हुन् । बिहीबार मोरङ उद्योग व्यापार संघको ६७औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष ढकालले सो कुरा बताएका हुन् ।

सरकारले लगानी सम्मेलनअघि संशोधन गर्ने भनेको कानुनलाई पनि संशोधन गर्नुपर्ने उनले औंल्याए । उनले समयमै संशोधन नभए यसले सम्भावित लगानीकर्तामा नकारात्मक सन्देश जाने बताए । ढकालले महासंघको सुझावमा १२ वटा ऐन नियम संशोधनको प्रस्ताव गरिएको जानकारी दिए । संशोधनपछि केही जटिल विषय सम्बोधन हुने उनले उल्लेख गरे ।

ढकालले व्यवसायीलाई दिइँदै आएको सहुलियतपूर्ण कर्जा सुविधा बन्द गरिएको उल्लेख गर्दै सहुलियतपूर्ण ऋण सुविधा पुनः सञ्चालन गर्न सरकारलाई आग्रह गरे । सुविधा ठप्प हुँदा उद्यमशीलतामा असर परेको उनले बताए ।

उनले आन्तरिक माग कम हुँदा निर्यात गरेर र बढी पर्यटक भित्र्याएर माग बढाउनुपर्ने तर निकासीमा दिइने अनुदान रोकिएको बताए । उनका अनुसार यस हिसाबले अहिले निर्यातमा प्रोत्साहन हुँदैन । उनले पूँजीगत खर्च बढाउन र ठेकेदारको बाँकी बक्यौता पनि तिर्न सरकारलाई आग्रह गरे । सरकारले व्यवसायीहरुको मनोबल बढाउनु पर्ने मा अध्यक्ष ढकालले जोड दिएका छन् ।

यसैबीच अध्यक्ष ढकालले मोरङ उद्योग व्यापार संघले चेम्बर आन्दोलन र देशको आर्थिक विकासमा पु¥याएको योगदानका लागि बधाई दिए । उनले मोरङ उद्योग व्यापार संघले यस क्षेत्रमा उद्यमशीलता प्रवद्र्धन, साना तथा मझौला उद्योगलाई टेवा पु¥याउन र व्यवसायको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न निर्णायक भूमिका खेलेको उल्लेख गरे ।

सो अवसरमा मोरङ उद्योग व्यापार संघका अध्यक्ष नवीन रिजालले कर्जाको ब्याजदर घटाउन सहयोग पुर्याएकोमा ढकाल र महासंघलाई धन्यवाद दिए । तर, बजारको माग कम भएकाले व्यवसायीले केही समस्या भोग्नु परेको जानकारी गराए । बजारमा छिट्टै सुधार आउने र अर्थतन्त्रले गति लिने उनको भनाइ थियो ।

मोरङ उद्योग व्यापार संघलाई पहिले मोरङ व्यपार संघ भनिन्थ्यो । संस्थाको नाममा यो परिवर्तन बिहीबार गरिएको हो ।