कर प्रणालीमा पारदर्शिता बढाउन बिल लिने बानी बसाल्न दीपाश्रीको आह्वान


काठमाडौँ । अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले वस्तु तथा सेवा खरिद गर्दा बिल लिने बानीले उपभोक्तालाई सचेत बनाउनुका साथै राज्यको कर प्रणालीलाई पारदर्शी र निष्पक्ष बनाउन सहयोग पुग्ने बताएकी छन् ।

आइतबार आयोजित ‘करदाता प्रोत्साहन कार्यक्रम’ अन्तर्गत पुरस्कार विजेता घोषणा कार्यक्रममा बोल्दै निरौलाले उपभोक्तालाई हरेक खरिदमा बिल लिन आग्रह गरेकी हुन् ।

कार्यक्रममा १६ जना दैनिक विजेता र एक जना बम्पर विजेताको नाम सार्वजनिक गरिएको थियो । कार्यक्रममा ३ हजार रुपैयाँको खरिद बिलका आधारमा एक उपभोक्ताले १० लाख रुपैयाँको बम्पर पुरस्कार जितेका थिए ।

निरौलाले करदाता प्रोत्साहन कार्यक्रम प्रविधिमा आधारित भएकाले यसमा व्यक्तिगत पहुँच वा पक्षपातको सम्भावना नरहेको बताइन् । प्रणालीमा सहभागी भएर बिल लिने उपभोक्ताले पुरस्कार जित्न सक्ने भएकाले सबैलाई यसमा जोडिन उनले आग्रह गरिन् ।

“घोषणा भएका १६ जना विजेता र एक जना अहिलेसम्मकै ठूलो विजेता, जसले ३ हजार रुपैयाँबाट १० लाख रुपैयाँ जित्नुभएको छ । कति राम्रो । सायद हामी पनि यो प्रक्रियामा आफैँ सहभागी भएको भए जित्न सक्ने रहेछौँ,” उनले भनिन् ।

उनले अगाडि भनिन्, “यहाँ कसैलाई हेरेर यो मान्छे मेरो हो, त्यो मान्छे तेरो हो भनेर होइन, यहाँ त एकदमै व्यवस्थित रूपमा सिस्टमले काम गरिरहेको रहेछ । यो सिस्टममा सहभागी हुनका लागि हामीले बिल लिने काम गर्नुपर्ने रहेछ । त्यसकारण मलाई एकदमै धेरै खुसी लागेको छ । आज सुनिरहनुभएका सम्पूर्ण महानुभावहरूलाई मेरो आग्रह छ, आजैदेखि तपाईंहरू पनि सचेत हुनुहोस् । बिल लिनुहोस्, पैसा कमाउनुहोस् ।”

दैनिक उपभोग्य वस्तु तथा सेवा खरिद गर्दा बिल माग्ने सामान्य बानीले पनि पुरस्कार जित्ने अवसर प्राप्त हुनुका साथै कर प्रणालीलाई व्यवस्थित बनाउन योगदान पुग्ने निरौलाको भनाइ छ ।

३ हजार रुपैयाँको खरिदबाटै १० लाख रुपैयाँको पुरस्कार जित्न सकिने उदाहरणले उपभोक्तालाई बिल लिने बानी विकास गर्न र कर प्रणालीमा सहभागी हुन प्रेरित गर्ने उनले बताइन् ।