‘लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव २०२४’ सम्पन्न, विश्वशान्ति र सांस्कृतिक पर्यटन गन्तव्यको रूपमा लुम्बिनीको प्रवद्र्धन


रूपन्देही । ‘लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव २०२४’ सम्पन्न भएको छ । नेपाल पर्यटन बोर्ड, नेपाल स्थित चीनियाँ दूतावास, लुम्बिनी विकास कोष, नेपाल ओलम्पिक कमिटी र प्रदेश खेलकुद परिषद् लुम्बिनीको आयोजना तथा नेपाल ओभरसिज चाइनिज एसोसिएसन, लुम्बिनी स्थित झोङ हुआ गुम्बा र लुम्बिनी होटल एसोसिएसनसँगको सहआयोेजनामा तथा लुम्बिनी बौद्ध विश्वविद्यालय, ग्रीनरोड तथा छांगन अटोमावाइलको सहकार्यमा महोत्सव सम्पन्न भएको हाे । यही चैत्र २३ र २४ गते लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव २०२४’ सम्पन्न भएको थियाे ।

लुम्बिनीलाई विश्व शान्ति र सांस्कृतिक पर्यटन गन्तव्यको रूपमा विश्वव्यापी रूपमा प्रवद्र्धन गर्नुका साथै नेपाल र चीनबिचको जनस्तरको सद्भाव र सम्बन्धलाई अझ प्रगाढ बनाउने अपेक्षाका साथ आयोजना गरिएको यस कार्यक्रममा लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति म्याराथन, लुम्बिनी अन्तर्राष्ट्रिय ध्यान दिवस, र लुम्बिनी शान्ति कन्सर्ट गरी तीनवटा प्रमुख कार्यक्रमहरू समावेश रहेका थिए । जस अन्र्तगत चैत्र २३ गते साँझ ‘विकास र शान्तिका लागि अन्तर्राष्ट्रिय खेलकुद दिवस’ को उपलक्ष्यमा सम्वाद कार्यक्रम तथा २४ गते बिहान ७ बजे लुम्बिनी पवित्र उद्यानमा सयजना भिक्षु, भिक्षुणी र अन्य करिब ४ सय सहभागीहरुसंग अन्तर्राष्ट्रिय ध्यान दिवस आयोजना गरिएको थियो भने २५ गते सांझ विश्व शान्ति र सद्भावको लागि आह्वान गर्दै पीस कन्सर्ट आयोजना गरिएको थियो ।

प्रतियोगिताअन्तर्गत पुरुषतर्फ अन्तर्राष्ट्रिय मापदण्डअनुसारको ४२ किलोमीटर बढीको म्याराथन, महिलातर्फ २१ किलोमिटर दुरीको हाफ म्याराथन दौड र पाँच किलोमिटरको रोड रेस र विद्यालयका छात्र छात्राको लागि तीन किलोमिटरको वाकाथन प्रतियोगितामा समावेश गरिएको थियो ।

पीस कन्सर्टमा नेपाली गायिका आनी छोयिङ डोल्मा सहित चिनियाँ कलाकारको प्रस्तुती पीस कन्सर्टमा विश्वप्रसिद्ध नेपाली गायिका आनी छोयिङ डोल्माले बौद्ध भजन र भजन सहित आफ्ना १० वटा लोकप्रिय गीतहरू प्रस्तुत गरेकी थइन भने प्रसिद्ध चिनियाँ लोक गायिका वुलान तुयाले आफ्ना लोकप्रिय गीतहरू “हाई अन द ग्रासल्याण्ड लुकिंग एट बेइजिङ“ र “हर्स हार्नेसिङ“ प्रस्तुत गरेकी थिइन् । प्रसिद्ध गुकिन वाद्यबाधक लु निङले प्राचिन चिनीयाँ बाद्यवाधन गुकिनबाट संगीत प्रस्तुत गरेकी थिइन भने यस्तै सो अवसरमा नेपाली कलाकार मनोज सिंह, गोपाल रसाइली, सञ्जय श्रेष्ठ र प्रिन्स नेपालीले प्रस्तुति दिएका थिए ।

यस्तै लुम्बिनीका कलाकारहरूले नेपालको तराईको समृद्ध संस्कृति झल्काउने “बिरहा“ र “ढेलुवा“ नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा नेपालका लागि चिनीयाँ राजदूत चेन सोङ, लुम्बिनी विकास कोषका सदस्य सचिव सानु राजा शाक्य, नेपाल पर्यटन बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत नन्दिनी लाहे–थापाले लुम्बिनीले विश्व शान्ति र विकासका लागि खेल्न सक्ने भूमिका धारणा राखेका थिए ।

अन्तरराष्ट्रिय म्याराथनमा पुरुषतर्फको म्याराथनकाे उपाधि बाग्लुङका तिर्थ पुनले जितेका छन् । पुनले निर्धारित ४२ दशमलब १९५ किलोमिटरको दुरी २ घण्टा २० मिनेट ४९ सेकेन्डमा पार गरे । उनले उपाधिसँगै नगद ५ लाख रुपैयाँ, मेडल, ट्रफी तथा प्रमाणपत्र प्राप्त गरेका छन् । त्यस्तै उक्त दुरी २ घण्टा २१ मिनेट ११ सेकेन्डमा पार गर्दै नेपाली सेनाका खड्कबहादुर खड्का दोस्रो भए । उनले नगद ३ लाखसहित मेडल र प्रमाण पत्र पाएका छन् । उनलाई पछ्याउँदै कर्णालीका दुर्गाबहादुर बुढाले २ घण्टा २२ मिनेट ४६ सेकेन्डमा दुरी पार गरेर तृतीय स्थान प्राप्त गरे । उनले २ लाख रुपैयाँ पाए ।

प्रतियोगितामा अनिस थापा चौथो, किरण बोगटी पाँचौं, सुशीलकुमार शाही छैठौं, होमलाल श्रेष्ठ सातौं, जुनेश खड्का आठौं, राजन चौधरी नवौं र प्रकाश गैरेले दसौं स्थान हासिल गरे । चौथो देखि १० औंसम्म आउनेले क्रमश १ लाख, ८० हजार, ६० हजार, ४०हजार, २० हजार, १०हजार र ५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

म्याराथन अन्तर्गत महिलातर्फको हाफ म्याराथनको उपाधि सन्तोषी श्रेष्ठले जितेकी छन् । धावीका श्रेष्ठले निर्धारित २१ दशमलब १ किलोमिटरको दुरी १ घण्टा १८ मिनेट ४५ सेकेन्डमा पुरा गर्दै दोस्रो संस्करणको लुम्बिनी म्याराथनको उपाधि जितेकी हुन् ।

त्यस्तै, नेपाली सेनाको पुर्णराज्यलक्ष्मी न्यौपानेले १ घण्टा १९ मिनेट २१ सेकेन्डमा दुरी पार गर्दै दोस्रो स्थान ओगटिन् । उनलाई पछ्याउंदै एपीएफकी पुष्पा भण्डारीले १ घण्टा २५ मिनेट १४ सेकेन्डमा दुरी पार गर्न सफल भइन् । यो सँगै उनले तेस्रो स्थान पक्का गरिन्। विजेता श्रेष्ठले २ लाख, न्यौपनेले १ लाख ६० हजार तथा भण्डारीले १ लाख २० हजार नगद पुरस्कार सहित प्रमाणपत्र प्राप्त गरेका छन्।

त्यस्तै, ५ किलोमिटरको विद्यालय छात्रा तर्फ अरुणा चौधरी प्रथम, कुसुम ठगुन्ना द्वितीय र भुमा चौधरी तृतीय हुन सफल भए । छात्रतर्फ आशिष कुमार क्षेत्रीले तृतीय, सन्देश पाण्डेले द्वितीय र उमेश बराईले प्रथम स्थान ओगट्न सफल भए । साथै खुला ५ किलोमिटर पुरुषतर्फ नागेश्वर ऐर प्रथम, अक्कलबहादुर पाल द्वितीय र गणेश सिंह राउत तृतीय भए । ५ किलोमिटर दौडको महिला तर्फ सिर्जना पाण्डे प्रथम, आशा राउत द्वितीय र निर्मला केसी तृतीय भएका थिए ।