उद्यमीलाई उत्पादन र बजारसँग जोड्दै काठमाडौं महानगर


काठमाडाैँ । काठमाडौं महानगरपालिकाले उद्यमी महिलालाई विभिन्न किसिमको सीपमुलक तालिम, व्यावसायिक सिकाई जस्ता रोजगारमुलक कार्यक्रममार्फत उत्पादन र बजारसँग जोड्ने भएको छ । महानगरले ३२ वटै वडामा एक वडा एक नमूना उद्यमशिलता कार्यक्रम शुरु गरेको छ ।

महानगरपालिकाले ‘एक वडा एक नमूना उद्यमशिलता,आफ्नै सीपमा मौलिक पन,आत्मनिर्भर उद्यमी, हाम्रै लगानी, हाम्रै श्रम’ नारासहित उक्त कार्यक्रमको थालनी गर्न लागेको हो । महानगरपालिकाले महानगरभित्रका ३२ वडाका उद्यमी बन्न चाहने महिला तथा पुरुषहरुको लागि उद्यमशिलता तालिम कार्यक्रम सुरुवात गरेको छ ।

महानगरले पहिलो चरणमा १६ वटा वडाहरुमा योजना बनाइरहेको छ । १६ वडा वडाको सिकाई, अनुभवको आधारमा ३२ वटा वडाहरुमा एक वडा एक नमूना उद्यमशिलता कार्यक्रम लैजाने योजना बनाएको हाे । महानगरले गर्ने उद्यमशिलता तालिम ३२ वडामा फरक–फरक किसिमका हुने जनाइएकाे छ । 

उद्यमशीलता प्रवद्र्धनमार्फत दिगो र समावेशी अर्थतन्त्रको आधार सिर्जना गर्न उद्देश्यले काठमाडौं महानगरले हरेक वडामा एक वडा एक नमूना उद्यमशिलता कार्यक्रम सञ्चालन गर्न लागेको उल्लेख गरेकाे छ । काठमाडौं महानगर भित्रका महिला उद्यमशीलतामार्फत उत्पादन वृद्धि गरी बजारसँग जोड्ने महानगरको योजना छ ।

महानगर पालिकाले महिला उद्यमीद्वारा उत्पादीत बस्तुहरुकाे बजार प्रवद्र्धन गर्ने योजनामा छ । निर्वाचनको बेलामा जनप्रतिनिधि भए महिलालाई आत्मनिर्भर बनाउने उद्यमशिलता तालिमको योजना बनाउने भनि गरेका प्रतिवद्धतालाई महानगरपालिकाले कार्यान्वयनमा ल्याउन लागेको हो ।

काठमाडौं महानगरलाई कृषिजन्य, काष्ठ र माटोजन्य वस्तु उत्पादनमा आत्मनिर्भर महानगर बनाउन सिपमुलक तालिमसहित प्राविधि समेत दिएर उद्यमी बनाउने उद्देश्य रहेको काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले बताइन् ।

उनले महानगरका ३२ वटै वडाभित्र उद्यमी बन्न चाहनेहरुका लागि फरक–फरक सीपको तालिम दिने र फरक–फरक उत्पादन गरी उत्पादनलाई बजारसँग जोडिने उल्लेख गरिन् । उपप्रमुख डंगोलले उद्यमशिल तालिममा महिला उद्यमी मात्रै नभएर पुरुष उद्यमीहरु पनि जोडिन सक्ने जानकारी दिइन् । महानगरका हरेक वडामा फरक–फरक किसिमको तालिम तालिमका लागि मात्रै नभएर तालिम लिएको क्षेत्रमा विज्ञ बनाएर उद्यमी बनाउने गरी उनीहरुलाई तालिम दिने योजना र कार्यक्रम बनाएको उनले दाबी गरिन् । 

उनले भनिन्, “३२ वटै वडाभित्र फरक–फरक उत्पादन गर्ने र उत्पादनलाई बजारसँग जोड्ने उद्देश्य छ । यसमा महिलाहरुको लागि मात्रै नभएर पुरुषहरुको पनि सहभागिता छ । हरेक वडामा फरक–फरक किसिमको तालिम दिँदैछौं । तालिमको लागि तालिम मात्रै नभएर जान्दै नजान्नेलाई त्यही क्षेत्रमा विज्ञगरी उनीहरुलाई तालिम दिने योजना र कार्यक्रम बनाएका छौं ।”

उपप्रमुख डंगोलले उद्यमशिल तालिम लिने तर उद्यमीहरुले उत्पादन गरेका वस्तुले बजार नपाउँदा उद्यमशिलता हराउँदै गएको पाइएको बताइन् । उनका अनुसार महानगरले उद्यमशिलतालाई थप प्रवद्र्धन गरी सीपमुलुक तालिम लिएका उद्यमीको उत्पादनलाई बजारसँग जोडेर उनीहरुलाई उद्यमी बनाउने कार्यक्रम रहेको छ। 

“विगतमा भएका सिप मुलुक तालिमहरुले धेरैले व्यहारमा लागू नगर्ने गरेका छन् । त्यस्तो नहुनुमा सीप सिकेपछि बजारसँग जोड्न नसक्दा समस्या भएको रहेछ । त्यही सिकाईलाई मध्यनजर गरेर तालिम दिँदै छौं । तालिम दिएपछि उनीहरुलाई महानगरपालिकाले उद्यमी बनाउँछाैँ,” उनले भनिन् ।

काठमाडौं महानगरले उद्यमी बनाएर उत्पादित वस्तुलाई बजारसँग जोड्ने, गुणस्तर कायम गर्ने र उत्पादनहरुमा बढी जोड दिने लक्ष्य लिएको छ । ३२ वटामा नै उद्यमी जन्माउनको लागि महानगर अन्य निकायहरुसँग पनि सहकार्य र समन्वय गरी काम गर्ने गरी योजना बनाइरहेको छ । महानगरले उद्यमशिल तालिम दिनु ठूलो कुरा नभएको भन्दै उपप्रमुख डंगोलले व्यवहारमा ल्याएर दिगो र प्रभावकारी रुपमा उत्पादन गर्नु अहिलेको चुनौति रहेको दाबी गरिन् । उनले यस्ता चुनौतिलाई चिर्नको लागि महानगरले एक वडा एक नमूना उद्यमशिलता कार्यक्रमबाट धेरैले उपलब्धी लिने बताइन् । 

“महानगरले विभिन्न स्टेक होल्डरहरुसँग समन्वय सहकार्य गरेर अघि बढ्ने योजना बनाएका छौं । उद्यममा गर्ने लगानी देखि बजारसँग जोड्नेसम्म महानगरले विभिन्न निकायहरुसँग सहकार्य गरेर अघि बढ्ने उदेश्य लिएका छौं,” उनले भनिन्, “उद्यमशिलता तालिम गर्नु ठूलो कुरा होइन । याे गरेपछि त्यसलाई दिगो रुपमा कसरी प्रभावकारी बनाउने महत्वपूर्ण र ठूलो कुरा हो भने अहिलेको चुनौती पनि हो । चुनौतीलाई चिर्नको लागि हामीले ल्याएको कार्यक्रमहरुबाट धेरैले उपलब्धी र फाइदा लिन सकुन् भन्ने हो ।”

उनले काठमाडौंमा भएको शहरी गरिब अन्त्य गर्नको लागि पनि उद्यमशिलता तालिम अघि सारेकाे बताइन् । उनका अनुसार काठमाडौं महानगरभित्रको गरिबीको रेखामुनी रहेकालाई उद्यमशिलता मार्फत जीवनस्तर माथि उकास्ने योजना छ ।

स्थानीय आवश्यकताको आधारमा उद्यमशिल तालिम 

महानगरले ३२ वटा वडामा त्यहाँको स्थानीय आवश्यकता पहिचान गरेर उद्यमशिल तालिमको व्यवस्था गर्ने भएको हाे । महानगरले ३२ वटा वडामा फरक–फरक सिपमुलक उद्यमशिल तालिमको कार्ययोजना बनाएर अघि बढेको छ । ३२ वडामा बस्ने काठमाडौँवासी मात्रै नभएर बाहिरबाट आएर काठमाडौंका विभिन्न वडामा बस्नेहरुले पनि आवेदन दिई उद्यमशिलता तालिममा सहभागिता जनाउन सक्नेछन् । 

आवदेन दिनेहरुको उद्यमी बन्ने इच्छाशक्ति  र विगतलाई समेत हेरेर महानगरले छनोट गरी तालिम दिएर आर्यआर्जन गरी उद्यमी बन्न सक्ने आधार बनाउने महानगरले जनाएको छ । महानगर उपप्रमुख डंगोलले वडाहरुमा फरक–फरक तालिमहरु दिन लागिएको बताइन् ।

उनले कुनै वडामा गुन्द्रुक बनाउने, मस्यौरा बनाउने, कुनै वडामा माटोका भाडा बनाउने तालिम दिने उल्लेख गरिन् । महानगरको वडा नम्बर ५ मा माटोको भाँडा बनाउने तालिम दिएको उनले बताइन् । उनका अनुसार तालिम लिएका उद्यमीहरुलाई अहिले महानगरले प्रविधि हस्तान्तरण गरेर एड्भान्स लेभलको तालिम दिइरहेको छ । उनले वडा नम्बर ५ लाई माटोको भाडामा आत्मनिर्भर घोषणा गर्ने योजना रहेको बताइन् । 

उनले भनिन्,” वडाहरुमा फरक–फरक तालिमहरु दिँदैछौं । कुनै वडामा गुन्द्रुक बनाउने,अर्को वडामा मस्यौरा बनाउने तालिम दिँदैछौं । कुनै वडामा माटोका भाडा बनाउने तालिम दिँदैछौ । वडा नम्बर ५ मा माटोको भाँडा बनाउने तालिम दिएका थियौं । अहिले प्रविधि हस्तान्तरण गरेर उहाँहरुलाई एड्भान्स लेभलको तालिम दिँदैछौं ।”

महानगरको १२ नम्बर वडामा सुकुल बुनाउने तालिम दिने तयारी छ। उनका अनुसार १६ नम्बर वडामा काष्ठ बनाउने र वडा नम्बर ८ पशुपति क्षेत्रमा रुद्राक्षको माला दुना टपरीको निकै माग हुने भएकाले रुद्राक्षको माला र दुना टपरी बनाउने तालिम दिन लागिएकाे हाे । उनले स्थानीय मागअनुसार तालिम दिने तयारी र योजना रहेको जानकारी दिइन् । 

शहरी गरिबी अन्त्यको लागि उद्यमशिलता

काठमाडौं महानगर पालिकाले महानगर पालिकाभित्र रहेको शहरी गरिबीलाई अन्त्य गर्ने योजनाका साथ उद्यमशिलता कार्यक्रमलाई अघि सारेको हाे ।

खास गरी उनीहरुको जीवनस्तर माथि उठाउने र आयआर्जनको माध्यमबाट गरिबी अन्त्य गर्ने योजनाका साथ ३२ वडामा गरिबी लक्षित रोजगार मुलक सीप तालिम सञ्चालन गर्न लागिएको उप्रमुख डंगोलको भनाई छ । उनले काठमाडौं महानगरभित्र पनि गरिबी छ र ? भन्ने प्रश्न आउने गरेको बताइन् । उपप्रमुख डंगोलले महानगरभित्र पनि शहरी गरिबी रहेकाले उद्यम, सीप तालिममार्फत स्थानीय उत्पादनमा लगाउने उदेश्यले बजेट मार्फत उद्यमशिल तालिम सञ्चालनको तयारीमा गरिएको दाबी गरिन्। 

“काठमाडौंमा गरिबहरु हुनुहुन्छ भनेर धेरैले प्रश्न सोध्नुहुन्छ । काठमाडौंमा छुट्टै खालका शहरी गरिबहरु पनि रहेका छन्” उनले भनिन्।

शहरी गरिबलाई पनि मध्यनजरमा राखेर उद्यमशिलता तालिमहरु अघि सारेको बताइन् । उद्यमशिल तालिमको माध्यमबाट गरिबीको रेखामा रहेकाहरुको जीवनस्तरमा सुधार ल्याउने उनले बताइन् ।

उनका अनुसार गरिबीको रेखाबाट माथि उठ्ने गरी महानगरले उद्यमशिल कार्यक्रमलाई व्यवस्थित र दिगोपन दिनेगरी अघि सारेको हाे । काठमाडौं महानगरले महानगरभित्रका गरिबी पहिचान गरिरहेको छ । महानगरले गरिबी पहिचानको यकिन तथ्याङ्क आएसँग त्यही अनुसार कार्यक्रमहरु ल्याउने र गरिबीको रेखामा रहेकालाई उद्यमशिलतासँग जोडर उद्यमी बनाउने महानगरले लक्ष्य लिएको छ । 

हरेक वडामा कोसेली घर

महानगरले ३२ वडामा उद्यमशिल तालिम दिएर प्रविधिमार्फत उत्पादन सुरु गरेपछि हरेक वडामा एक कोसेली घर स्थापना गर्ने योजना बनाएको छ । उद्यमीहरुले उत्पादन गरेका वस्तुहरुलाई बजारसँग जोड र स्थानीय उत्पादनमा प्रत्येक वडा आत्मनिर्भर बनाउने उद्देश्य महानगरको छ ।

महानगरले दिएको सीपमुलक तालिममार्फत उत्पादन भएका वस्तुहरुलाई बजारसँग जोड्नको लागि कोसेली घर स्थापना गरिने महानगरले जनाएको छ । वडामा उद्यमीहरुले उत्पादन गरेका वस्तुलाई कोसेली घरसँग जोड्ने गरी अवधारणा अघि सारिएको उपप्रमुख डंगोलको भनाई छ । 

उपप्रमुख डंगोलले भनिन्, “१६ वटा वडाबाट पाइलटिङ गर्दैछौं । वडा फरक–फरक ढङ्गको उत्पादन गरेपछि उहाँहरुसँग समन्वय गरेर हरेक वडामा कोसेली घरको अवधारणा अघि सारेका छौं । कोसेली घरमा त्यस्ता उत्पादनहरुलाई जोड्ने हो । त्यसरी काठमाडौं महानगर भित्र उत्पादन भएका वस्तुहरुको लागि बजार व्यवस्थापन गर्ने सोचेका छौं ।”

महानगरले दिएको उद्यमशिलता तालिमबाट उद्यमीले उत्पादन गरेको वस्तुहरु कोसेली घरमा मात्रै सिमित राख्ने भन्दा पनि काठमाडौं भित्र र देशभर विभिन्न ठाउँमा रहेका बजारहरुमा लैजाने वातावरण बनाउने उपप्रमुख डंगोलको दाबी छ । 

सुपर मार्केटहरुमा ‘मेड इन काठमाण्डौं’को छुट्टै स्थान रहने 

काठमाडौं महानगरले स्थानीय साना तथा घरेलु उद्यमीहरुले उत्पादन गरेका वस्तुको लागि विभिन्न मार्ट र सुपर मार्केटमा ‘मेड इन काठमाडाैँ’को छुट्टै स्पेस अनिवार्य राख्नुपर्ने अवधारणा ल्याउन लागेको छ । महानगरले नेपाली उद्यमीहरुले उत्पादन गरेका वस्तुलाई पहिलो प्राथमिकतामा राखि नेपाली वस्तुहरुको प्रोत्साहन गर्ने उद्देश्यले यस्तो अवधारण अघि सार्न लागेको हो ।

नेपाली उत्पादनहरुलाई नेपालीहरुले प्रमुख प्राथमिकता दिन आवश्यक रहेकाले यस्तो अवधारण ल्याउन लागिएको उप्रमुख डंगोलको भनाई छ । 

उनले महानगर भित्रका उद्यमीहरुले उत्पादन गरेका कृषिजन्य तथा अन्य वस्तुहरुलाई महानगरभित्रका मार्ट तथा सुपरमार्केटहरुले अनिवार्य स्पेश दिन आवश्यक रहेको बताइन् ।

मार्ट तथा सुपर मार्केटहरुले नेपाली उत्पादनलाई ठाउँ नदिने हो भने प्रतिष्पर्धा गर्न नसक्ने उनले बताइन् । उनका अनुसार स्पेस भएर बजारसँग नेपाली उद्यमीले उत्पादन गरेका वस्तुहरु जोडिए मात्रै बजारमा प्रतिष्पर्धा गर्न सक्ने छ। 

उनले भनिन्, “विभिन्न ठाउँमा रहेका मार्टहरुमा मेड इन नेपाल राख्नुपर्छ । किनकी हामीले हाम्रो उत्पादनलाई ठाउँ नदिने हो भने प्रतिष्पर्धा गर्नको लागि पहिला मार्केटसँग लिङ्क गर्न सक्नुपर्छ । त्यसपछि मात्रै प्रतिष्पर्धा गर्न सकिन्छ ।”

उनले मार्ट तथा सुपर मार्केटहरुमा मेड इन नेपाल, मेड इन काठमाडौं सेक्सन बनाएर हरेक मार्टबाट त्यस्ता वस्तुहरुलाई जोड्ने लक्ष्य महानगरको रहेको बताइन् । त्यसको लागि महानगरले विभिन्न स्टेक होल्डरसँग सहकार्यको लागि छलफल अघि बढाएको छ । त्यस्तै, उपप्रमुख डंगोलले शनिवार वा अरु दिनहरुमा महानगरभित्रकै वडाको पेरिफेरिमा, सभागृह भित्र अथवा अन्य ठाउँहरुमा मेड इन काठमाडौं मेला गर्ने योजना बनाएको बताइन् । 

उद्यमीहरुले उद्यमशिलता तालिमपछि गरेको उत्पादन गुणस्तर परीक्षण गरी गुणस्तर कायम भए उद्योग स्थापना गर्ने स्थानीय सरकारको रुपमा उद्यमीहरुलाई सहयोग गर्ने उनले बताइन् । उद्यमीहरुलाई महानगरले करमा छुट दिएर मेड इन काठमाडौं जस्ता मेला आयोजना गरेर उद्यमीहरुलाई बजारसँग जोड्ने लक्ष्य राखेको उनको भनाई छ । 

राष्ट्रिय र अन्तर्राष्ट्रिय बजार प्रवद्र्धन गर्ने योजना 

काठमाडौं महानगरको उद्यमशिलता तालिमबाट ३२ वटै वडामा फरक–फरक किसिमका उद्यमीले उत्पादन गरेका वस्तुलाई देशभरका बजारसँग जोड्ने र अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउने योजना रहेको उल्लेख गरेको छ । महानगरले ३२ वडामा उत्पादन भएका वस्तुहरुलाई महानगरभित्र मात्रै सिमित नराख्ने जनाएको छ ।

महानगर उप्रमुख डंगोलले स्थानीय उद्यमीले उत्पादन गरेका वस्तुहरुलाई गुणस्तर कायम गरी राष्ट्रिय अन्तर्राष्ट्रिय बजारमा पठाउने बताइन् । नेपालबाट धेरै बस्तुहरु विदेशमा निर्यात पनि भइरहेको भन्दै विदेशमा नेपाली उत्पादन निर्यात गर्ने व्यवसायीहरुसँग पनि छलफल गरिरहेको उनले दाबी गरिन् । 

उनले भने, “यो महानगरपालिका भित्र मात्रै पनि सिमित हुँदैन । त्यस्ता वस्तुहरु देशभर जानसक्ने गुणस्तर बनाउन सकिन्छ । त्यस्तै,नेपालबाट धेरै वस्तुहरु विदेशमा निर्यात पनि भइरहेको छ । विदेशमा नेपाली उत्पादन निर्यात गर्ने व्यवसायीहरुसँग पनि महानगरले छलफल गरिरहेको छ ।”

महानगरले उद्यमशिल तालिम राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारसँग जोड्न गरी उत्पादन वृद्धि गर्ने योजना बनाएर कार्यक्रम अघि बढाएको जिकिर गरिन् । उनले उद्यमशिल तालिम श्रमसँग मात्रै नभई सीप,आत्मनिर्भरता ,समाजरुपान्तरण र गरिबी निवारणसँग पनि जोडिएको दाबी गरिन् । महानगरले श्रम मेलामा २०८१ सालमा २ हजार ८१ जनालाई श्रम र रोजगारीसँग जोड्ने उद्देश्य छ । श्रम मेला सीप सिक्ने र सीप सिकेपछि रोजगारी र आय आर्जनसँग जोड्ने उद्देश्यले आयोजना गरिएको जनाएको छ । 

अनिष मिजार/न्युज एजेन्सी