विश्वविद्यालयको छाता ऐन बनाउनुपर्छः सांसद पौडेल


काठमाडाैँ । नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले विश्वविद्यालयको छाता ऐन बनाउनुपर्ने बताएका छन् । सोमवार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकका सम्बन्धमा छलफलमा भाग लिँदै सांसद पौडेलले विश्वविद्यालयको छाता ऐन बनाउनुपर्ने बताएका हुन् ।

उनले विश्वविद्यालयको छाता ऐन बनाएर सोही छाता ऐनको प्रवन्धभित्र विश्वविद्यालयहरु खोल्न सकिने व्यवस्था गर्नुपर्ने बताए । नेपाल विश्वविद्यालयको औचित्यको सम्बन्धमा पनि उनले प्रश्न उठाए ।

उनले मानिसमा वास्तविक सीप भर्ने नयाँ तरिका नेपाल विश्वविद्यालयले के ल्याएको छ ? भनेर प्रश्न गरे । नेपालमा धेरै विश्वविद्यालयहरु भइसकेका भन्दै यतिधेरै विश्वविद्यालय किन चाहिएको हो ? भन्दै प्रश्न गरे । उनले विश्वविद्यालयको छाता ऐन नबनेमा धेरै क्याम्पसहरुलाई विश्वविद्यालयको रुपमा सम्बन्धन दिनुपर्ने अवस्था आउने भन्दै छाता ऐन बनाउनुपर्नेमा जोड दिए । 

सांसद पौडेलले विधेयकमा विश्वविद्यालयले के विषयमा दक्ष जनशक्ति उत्पादन गर्ने हो भन्नेकुरा प्रष्ट रुपमा नआएको बताए ।