नेपालकै पहिलो आधुनिक नागढुंगा सुरूङ मार्गको ब्रेक थ्रु


काठमाडाैँ । नेपालकै पहिलो आधुनिक सुरूङ मानिएको नागढुंगा–नौबिसे सुरूङ मार्गको मुख्य सुरूङ मार्गको ब्रेक थ्रु भएको छ । सोमवार जापानी संस्कृति र नेपाली हिन्दु परम्पराअनुसार विशेष पूजाआजा गरेर मुख्य सुरूङ मार्गको ब्रेक थ्रु गरिएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहालले विद्युतीय स्विच थिचेर ब्लास्टिङ गरी सुरूङ ब्रेक थ्रु गरेका हुन् । सुरूङ ब्रेक थ्रु गरिएसँगै कुल लम्बाई २.७ किलोमिटर २ हजार ६८८ मिटर रहेकोमा दुई मिटर खन्न बाँकी सुरुङ सकिएको छ ।

सुरूङ ब्रेक थ्रु गत फागुन २३ गते मिति तय भएको भएपनि स्थानीय अवरोधका कारण खन्ने काम रोकिँदा ब्रेक थ्रु मिति सरेको थियो । देशका अन्य विभिन्न भागबाट काठमाडौं उपत्यका भित्रिने तथा बाहिरिने प्रमुख नाका मानिने नागढुंगाको २.८ किलोमिटरको दूरी घटाउनेछ ।

अहिले चलिरहेको सडकमार्ग हुँदै सिस्ने खोला बलम्बु साढे आठ किलोमिटर दूरी छ । सुरूङमार्ग हुदैँ काठमाडौंतर्फ आउँदा ३३ मिनेट र काठमाडौं बाहिर जाँदा २३ मिनेट समय बच्ने जनाइएकाे छ । आयोजनामा एउटा मुख्य र अर्को उद्धार (रेस्क्यु) गरी दुइटा सुरूङ रहेका छन् ।

रेस्क्यु सुरूङको लम्बाई २ हजार ५५७ मिटर छ । यो इभ्याकुएसन सुरूङ ब्रेक–थ्रु भइसकेको छ । आयोजनामा तीन वटा अण्डरपास हुनेछन् । हाल तीन वटै पूरा भइसकेको आयोजनाले उल्लेख गरेकाे छ । त्यस्तै बक्स कल्भर्ट चार वटै निर्माण सकिएको छ । एउटा ओभरपास पनि निर्माण भइसकेको छ । तीन वटै पुल निर्माण सकिएका छन् ।

फ्लाइओभर निर्माणको काम पनि अन्तिम चरणमा छ । आयोजना विकासका लागि जापान सहयोग नियोग जाइकाको सहयोगमा २०६९ देखि २०७२ सालसम्म सर्वेक्षण गरिएको थियो। आयोजनाको औपचारिक निर्माण २०७६ कात्तिक २८ गतेदेखि थालिएको हो । आयोजनाको कुल लागत करिव २२ अर्बमध्ये जाइकाले करिव १६.६ अर्व ऋणमार्फत उपलब्ध गराउने छ । —युज एजेन्सी नेपाल