विश्वविद्यालयलाई दलीय राजनीतिबाट मुक्त नगरेसम्म शिक्षा क्षेत्रको विकास हुँदैनः मन्त्री श्रेष्ठ


काठमाडाैँ । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विश्वविद्यालयलाई दलीय राजनीतिबाट मुक्त नगरेसम्म शिक्षा क्षेत्रको विकास हुन नसक्ने बताएकी छिन् ।

मंगलवार सिंहदरबारस्थित मन्त्रालयमा प्राज्ञिक समूहसँगको भेटमा उनले यस्तो बताएकी हुन् । उनले प्राज्ञिक समूहले र प्राध्यापक तथा कर्मचारीहरुले पनि सरकारी सेवामा रहुन्जेलसम्म राजनीतिक दलको सदस्य बन्दैनौँ भन्ने संकल्प गर्न आवश्यक रहेको बताइन् ।

प्राज्ञहरुको विज्ञता, अनुभवलाई आफूले सम्मान गर्दै सुझावहरु कार्यान्वयन गर्ने प्रतिवद्धता उनले जनाएकी छिन् । उनले शिक्षकहरु, कर्मचारीहरु राजनीतिक पार्टीको कुनै कार्यकारीमा बस्नु नहुने उल्लेख गरिन्। उनले राजनीतिक नेतृत्वहरुसँग भेट्दा पनि राजनीतिक दलको सदस्यता दिन पाउनु हुन्न भनेर खबरदारी गर्न आवश्यक रहेको बताइन् । 

मन्त्री श्रेष्ठले शिक्षा क्षेत्र शिक्षा मात्र नभइ समाजमा चेतना दिने क्षेत्र भएको उल्लेख गरिन् ।