संघीय प्रणालीका आधारमा आगामी बजेट ल्याउन सरकारलाई अर्थविद्हरूकाे सुझाव


काठमाडाैँ । सरकारले आगामी आर्थिक वर्षको बजेट संघीय प्रणालीमा रहेको अभास हुनेगरी ल्याउन अर्थविद्हरूले सुझाव दिएका छन् ।

मंगलवार राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिमा भएको प्रि–बजेट छलफलमा अर्थविद्हरूले सरकारलाई यस्तो सुझाव दिएका हुन ।

उनीहरूले मुलुक संघीय प्रणालीमा छ भन्ने आधारबाट बजेट ल्याउन जरुरी रहेको बताए । अर्थविद्हरूले केन्द्रियतालाई मात्रै प्राथमिकता दिएर सरकारले बजेट ल्याउने गरेको आरोप लगाए । उनीहरूले सरकारले योजना आयोगले बनाएर दिएको योजनाका आधारमा प्रदेशले स्थानीय तरिकाले सिद्धान्त सेट गर्नेगरी आउन नहुने बताए ।

आगामी आर्थिक वर्षको बजेट वातावरण संरक्षण,जलवायु परिवर्तन र राजश्व वृद्धिलाई प्राथमिकता दिन उनीहरूले सुझाव दिए । उनीहरूले राजश्व संकलनको सम्भावनाका क्षेत्र पहिचान गर्न नसके आगामी पाँच वर्षमा राजश्ज शुन्यउन्मुख हुने दाबी गरे । समिति बैठकमा बोल्दै अर्थविद् डा.अच्युत वाग्लले सरकारले मुलुक संघीय प्रणालीमा छौं भन्ने आधारमा बजेट बनाउन सुझाव दिए । उनले याेजना आयोगले बनाएका योजना दिएर प्रदेशले स्थानीय तरिकाले सिद्धान्त सेट गर्न नसक्ने बताए ।

सरकारले बनाउने घोषणापत्र,आवधिक योजना,सिद्धान्त तथा प्राथमिकता, बजेट र नीतिहरुको तादात्म वा एकले अर्कोलाई परिपुरण गर्ने काम नभएको दाबी गरे । उनले पूर्वाधार विकास,सामाजिक विकास,आर्थिक विकास,वातावरण संरक्षण र जलवायु परिवर्तनको सम्बोधन एक अर्काका विरोधाभास पूर्ण अवधारणाहरु जस्तो देखिएको बताए ।

डा.वाग्लले आर्थिक वृद्धि र विकास भर्सेस वातावरण संरक्षण र जलवायु परिवर्तनको पहिलो सौद्धान्तिक अवधारणा वा राष्ट्रिय नीति बजेट भन्दा फराकिलो ढङ्गले आउनुपर्नेमा जोड दिए । उनले मुलुक राजश्व संकलनको ठूलो जोखिममा परिसकेको उल्लेख गरे । उनले भन्सार राजश्वको स्रोत सवारी साधन, पेट्रोलियम पदार्थ र सवारी साधनको पार्टपूर्जा मात्रै भएको बताए । उनले मुलुक ग्रिन अर्थतन्त्रमा जाने हो भने विद्युतले चल्ने सवारीसाधन आयात गर्न दिनुपर्ने र विद्युतीय सवारी साधन आयात भएपछि पेट्रोलियम पदार्थ आयात पनि घट्ने बताए ।

समिति बैठकमा बोल्दै प्रा.डा.गोविन्द नेपालले खुला सीमानामा हुने चुहावट सरकारले रोक्नसके मात्रै राजश्व संकलनमा सुधार हुने बताए । उनले सिमा क्षेत्रमा हुने राजश्व चुहावट रोक्नको लागि राज्य निर्मम हुन जरुरी रहेको बताए । उनले सरकारले बजेट मार्फत भ्याट (कर) छुट दिने कुराहरू गर्न नहुने बताए । उनले करमा छुट दिँदा राज्यले ठूलो रकम बाहिरिएको बताउँदै कर छुट दिँदा राज्यलाई हुने फाइदाका विषयमा ध्यान दिन सुझाव दिए ।

अर्थविद् नेपालले राजश्व संकलन गर्न सक्ने सम्भावना भएका क्षेत्रलाई प्राथमिकता दिन जरुरी रहेको बताए । उनले सरकारलाई ऋणको दायित्व तिर्न समस्या भएको बताए । उनले सरकारको सार्वजनिक ऋणको दायित्व बढ्दै जाँदा बजेटको आकार बढ्दै जाने देखिएको बताए ।