उद्योग वाणिज्य क्षेत्रको योगदान बढाउन प्रतिवद्ध भएर लाग्नुपर्ने समय आएको छः मन्त्री भण्डारी


काठमाडाैँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले स्वदेशी तथा विदेशी लगानी अभिवृद्धिमार्फत समृद्ध नेपाल निर्माणमा मन्त्रालय उद्योग वाणिज्य क्षेत्रको योगदान बढाउन प्रतिवद्ध भएर लाग्नुपर्ने समय आएको बताएका छन् ।

मंगलवार परिसंघको २१ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्ताे बताएका हुन् । उनले संघीयता अनुकुलका नीतिगत कानूनी एवं संस्थागत व्यवस्था गर्दै तीन तहको संघीयता शासन प्रणालीमा उद्योग तथा व्यापार क्षेत्रलाई थप व्यवस्थित तथा सहजीकरण गर्न सरकार क्रियाशिल रहेको बताए ।

उनले सरकारले लगानी सम्मेलनको तयारी गरिरहेको र वैदेशिक लगानीलाई आकर्षित गर्न सरकारले करिव एक दर्जन ऐनको परिमार्जन गर्ने कार्य अन्तिम चरणमा पु¥याएको बताए । उनले राष्ट्रिय हितलाई केन्द्रमा राख्दै दुई पक्षिय लगानी प्रवद्र्धनका लागि सरकारले हालै पिआइआईको नमूना ढाँचा स्वीकृत गरेको बताए ।

इ कमर्स, डिजिटल व्यापार तथा सूचना प्रविधिको उच्चतम प्रयोगसहित आर्थिक गतिविधिलाई लागतप्रभावी, प्रतिष्पर्धी र सहज बनाउन सरकारले उच्च महत्व दिएको दाबी गरे ।

उनले भने, “संघीयता अनुकुलका नीतिगत कानूनी एवं संस्थागत व्यवस्था गर्दै तीन तहको संघीयता शासन प्रणालीमा उद्योग तथा व्यापार क्षेत्रलाई थप व्यवस्थित तथा सहजीकरण गर्न नेपाल सरकार क्रियाशिल रही आएको छ । स्वदेशी तथा विदेशी लगानी अभिवृद्धिमार्फत समृद्ध नेपाल निर्माणमा उद्योग मन्त्रालय, उद्योग वाणिज्य क्षेत्रको योगदान बढाउन हामी प्रतिवद्ध भइ लाग्नुपर्ने समय आएको छ ।”

मन्त्री भण्डारीले नेपालका हिमाल, पहाड र तराईको प्राकृतिक साधन, खानी तथा खनिजजन्य श्रोतको उपयोग गर्न अब ढिलाइ गर्ने छुट नरहेको बताए । उनले कच्चा पदार्थ, सीप तथा कौशलताको प्रयोग गर्दै विदेशी लगानीको प्रवद्र्धन तथा प्रविधि हस्तान्तरणको वातावरण विकास गरी विभिन्न वस्तु तथा सेवाको मूल्य श्रृंखला विकास गर्नु आजको अनिवार्य आवश्यकता भएको बताए ।