सरकार परिवर्तन हुने तनाव उद्योगी व्यवसायीहरूले लिन आवश्यक छैन: दाहाल


काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार परिवर्तन हुने तनाव उद्योगी व्यवसायीहरूले लिन आवश्यक नरहेको बताएका छन् ।

मंगलवार परिसंघको २१ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले अर्को निर्वाचन नहुँदासम्म वर्तमान सरकार कायम रहने र लगानीकाे वातावरण सिर्जना गर्ने बताएका हुन् ।

उनले सञ्चारमाध्यममा यदाकदा हुने सरकार परिवर्तनका टिप्पणीहरूलाई गम्भीरतापूर्वक लिन जरुरी नरहेको समेत बताएका छन् ।

उनले प्रधानमन्त्री रहँदासम्म मन्त्रीमण्डल पुनःगठन हुने कुरालाई अस्थिरताको रूपमा बुझ्न नहुने पनि बताए ।

“अहिले अध्यक्षको तर्फबाट राजेशजीले केही गम्भीर विषयहरू व्यवस्थित रूपले उठाउनुभएको छ । नेपाल उद्योग परिसंघले निजी क्षेत्र र सरकारसँगको सहकार्यको बारेमा रचनात्मक र सिर्जनात्मक ढंगले आफ्ना विषयहरू राख्दै आएको छ । भन्दै जाँदा राजेशजीले भनेको एउटा कुरामा मेरो विशेष रूपले ध्यान केन्द्रित भएको छ । राजनीतिक अस्थिरता फेरि केही हुन्छ की जस्तो देखिँदैछ भन्ने कुरा गर्नुभयो । म के विश्वास दिलाउन चाहन्छु भने यो नेपालमा सिंगै अवधिभर अर्को चुनाव नहुँदासम्म सरकार चलिराख्छ, उनले भने ।”

पछिल्लो समय अर्थतन्त्रमा सुधारका महत्त्वपूर्ण सूचकहरू देखा पर्दै गएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले चालु आर्थिक वर्ष अर्थतन्त्रका लागि आशालाग्दो वर्ष हुने विश्वास व्यक्त गरे।

“नयाँ वर्षको सुरूवातमा नै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन गर्दैछौँ। विदेशी लगानी भित्राउन सोहीअनुरूप वातावरण निर्माणका लागि दर्जन बढी कानून संशोधनको प्रक्रियामा छन् । यस अर्थमा २०८१ लाई एउटा आशलाग्दो वर्षका रूपमा लिन सकिन्छ।”

उनले निजी क्षेत्रको मनोबल बढाउने, लगानीमैत्री वातावरण निर्माण गर्ने र परिणाममुखी कामका लागि प्रोत्साहित गर्ने काममा सरकार जिम्मेवार भएर लागिरहेको स्पष्ट पारे।