काठमाडौँ महानगरमा आजदेखि क्यान्सरको निःशुल्क परीक्षण शिविर हुने


काठमाडौँ । काठमाडौँ महानगरपालिका आजदेखि क्यान्सरको निःशुल्क परीक्षण शिविर सञ्चालन गर्दैछ।

महानगरले आजदेखि वैशाख महिनाभरि स्तन, पाठेघर मुखको क्यान्सर र प्रजनन रुग्णता अस्वस्थ्यता सम्बन्धी निःशुल्क परीक्षण शिविर सञ्चालन गर्न लागिएको जनाएको छ।

महानगरले वडा नं ३१ भीमसेनगोलामा वैशाख ५ र ६ गते, वडा नं २५ र २७, इनबहालमा ७, ९ र १० गते, वडा नं ३, महाराजगञ्जमा ११ र १२ गते, वडा नं २६, लैनचौरमा १४ गते, वडा नं २०, भीमसेनस्थानमा १६ गते, वडा नं २१, यंगालमा १७ गते, वडा नं २३, ओमबहालमा १८ गते र वडा नं १५, स्वयम्भूमा २० र २१ गते शिविर सञ्चालन गरिने जनाएको छ।

त्यसैगरी रामघाट प्राथमिक स्वास्थ्य केन्द्रमा वैशाख २३ गते, वडा नं २, लाजिम्पाटमा २४ गते, वडा नं २४, मखनमा २५ गते, वडा नं २२, टेबहालमा २६ गते, वडा नं १८, नरदेवीमा २७ गते, वडा नं १९, कङ्केश्वरीमा २८ गते, वडा नं ३२, पाल्पाकोट (छाप्रे), कोटेश्वरमा ३० र ३१ गते सर्वसाधारणले स्वास्थ्य सेवा लिन पाउने महानगरपालिकाले जनाएको छ।

कार्यक्रमको पहिलो दिन मंगलबार राष्ट्रिय सभा गृहमा महिला जनप्रतिनिधि र कर्मचारीहरुको स्वास्थ्य जाँच भएको थियो । कार्यक्रम थालनी गर्दै महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले, सुरु भएकै समयमा क्यान्सर पहिचान गर्न सके रोकथामको सम्भावना रहने भएकोले महानगरपालिकाले आयोजना गर्ने वडास्तरीय निःशुल्क शिविरमा आएर जाँच गराउन आव्हान गरउकी छन् ।

शिविरबाट थप परीक्षणको आवश्यकता भएका महिलाका लागि सिभिल अस्पताल, मीनभवनमा निःशुल्क परीक्षण हुने महानगरपालिकाले जनाएको छ।पाठेघरको मुखको क्यान्सरका कारण नेपालमा हरेक दिन ४ जना महिलाले मृत्यु हुने अध्ययनले देखाएको छ।