८० करोड लगानीमा फरच्युना हेल्थ केयरद्धारा नेपालमै सिरिञ्ज उत्पादन सुरू


काठमाडौँ । फरच्युना हेल्थ केयरद्वारा नेपालमै सिरिञ्ज उत्पादन सुरू गरेको छ ।

उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष भवानी राणासहितको टिमले नेपालमा पहिलो पटक ललितपुरको चुनिखेलमा सिरिञ्ज उद्योग सञ्चालनमा ल्याएका हो । हिजाे (बिहीवार) सिरिञ्ज उद्योगको उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले उद्घाटन गरेका हुन् ।

उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री यादवले उद्घाटन गरेसँगै फरच्युना ब्राण्डका सिरिञ्ज बिक्री वितरण समेत सुरू भएको छ । नेपालमा अन्तर्राष्ट्रिय स्तरको सिरिन्जलगायत मेडिकलजन्य सामग्री उत्पादन तथा बिक्री वितरण गर्ने उद्देश्यले उद्योग स्थापना गरिएको फरच्युना हेल्थ केयर प्रा।लि।का अध्यक्ष राणाले जानकारी दिइन् ।

अध्यक्ष राणाले नेपालको औद्योगिक क्षेत्र र गुणस्तरीय स्वास्थ्य उपकरणको अभावलाई पूर्ति गर्ने र आयात प्रतिस्थापन गर्ने लक्ष्य लिएको बताइन् । उनले नेपाली बजारमा आवश्यक पर्ने सबै खाले सिरिञ्ज उत्पादन गरी आत्मनिर्भर बनाउने उद्देश्य उद्योगको रहेको बताइन् ।

नेपालमा वार्षिका रूपमा १७ भन्दा बढी मुलुकबाट ५७ करोड ८३ लाख भन्दा बढीको सिरिञ्ज आयात भएको देखिएको उनको भनाई छ । उनले एक वर्षका ६ करोड ४७ लाखको संख्यामा सिरिञ्ज भित्रिए पनि गुणस्तर परीक्षण नहुँदा स्वास्थ्यकर्मी र सेवाग्राहीहरुले दुःख पाइरहेको बताइन् ।

अध्यक्ष राणाले तत्कालका लागि नेपाली बजारमा बिक्री वितरण गर्ने र भविष्यमा विदेशसमेत निर्यात गर्ने लक्ष्य रहेको बताइन् । उनले कोभिड १९ अघि ९सन् २०१९०देखि उद्योग सञ्चालन तयारी भएपनि कोरोनाका कारण विदेशबाट आवश्यक सामान आयात गर्न ढिलाइ हुँदा लागत बढेको बताइन् ।

उद्योग स्थापना तथा उत्पादन विविधिकरणका लागि ८० करोड रुपैयाँ लगानी भएको छ । उद्योगले अहिलेसम्म ५० करोड लगानी भइसकेको जनाएको छ । कम्पनीले सिरिञ्ज उत्पादन विश्व स्वास्थ्य संगठनले औषधि उद्योगका लागि तोकेको मापदण्ड जी।एम।पी।मा आधारित रहेर आइइसओ मापदण्डको स्ट्याण्डर्ड पूरा गरेको जनाएको छ ।