औद्योगिक प्रदर्शनी तथा सूचना प्रविधि मेला–२०८१ आजदेखि सुरू


काठमाडौँ । चितवन उद्योग संघ र कम्प्युटर एसोशिएसन नेपाल महासंघ, चितवनको संयुक्त आयोजनामा आजदेखि “औद्योगिक प्रदर्शनी तथा सूचना प्रविधि मेला–२०८१” सुरू भएको छ ।

समुद्घाटन समारोहका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री माननीय दामोदर भण्डारीले प्रदर्शनीको उद्घाटन गर्दै देशमै औद्योगिक उत्पादन वृद्धि गरी नेपाली वस्तु तथा सेवाको पहुँच राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा विस्तार गरी रोजगारी सिर्जना गर्नुपर्ने बताउ ।

मन्त्री भण्डारीले साना तथा मझौला उद्योगहरुको बजार मागमा आएको उच्च कमीका कारण समस्यामा परेका उद्योगी व्यवसायीहरुको समस्या समाधानका लागि उचित नीति बनाई कार्यान्वयन गराउनको लागि आफूहरू तयार रहेको बताए ।

आयोजक संस्था चितवन उद्योग संघका अध्यक्ष सूर्य प्रसाद न्यौपानले विश्वमा नै आर्थिक मन्दी देखिएको वर्तमान समयमा औद्योगिक उत्पादनको खपतमा गिरावट आईरहेको र अधिकांश उद्योग व्यवसायहरु बन्द हुने अवस्थामा पुगिसकेको र सञ्चालनमा रहेका उद्योगहरु समेत अत्यन्त न्यून क्षमतामा सञ्चालित भएकाले उद्यमशिलताको अस्तित्व नै संकटमा पर्ने देखिएको बताए ।

प्रदर्शनीमा नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, लघु, घरेलु तथा साना उद्योग प्रबद्र्धन केन्द्र, बागमती प्रदेश सरकार, उद्योग तथा वाणिज्य कार्यालय चितवन, भरतपुर महानगरपालिका सहित चितवनका स्थानीय पालिकाहरुको प्रवद्र्धन सहयोग रहेको छ । भने प्रदर्शनीमा कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश लगायतबाट स्टलको सहभागिता रहेको छ ।

प्रदर्शनी अवधिमा चैत्र ८ गते “नेपालमा स्टार्टअप इको सिष्टम र टेक्नोलोजिकल इनोभेसन” र चैत्र १० गते “दिगो औद्योगिक विकासका लागि अवसर र चुनौती” शीर्षकमा प्यानल डिस्कशन सहितको सेमिनार आयोजना हुँदैछ ।

प्रदर्शनीबाट लघु, घरेलु तथा साना उद्योगलाई उपयोगी हुने नविनतम प्रविधि अनुसरण गरी औद्योगिक उत्पादकत्व वृद्धिमा सहयोग पु¥याउने, कृषिजन्य उद्योग, पर्यटन, प्रविधिलगायतका सेवाजन्य उद्योग एवम् उत्पादनमूलक उद्योगको प्रवद्र्धन गर्ने, बिटुबि तथा बिटुसि मिटिङका माध्यमबाट राष्ट्रिय उत्पादनको बजारीकरणको लागि सहयोग पु¥याउने, नव प्रवर्तन र नयाँ प्रविधिवारे जानकारी गराउँदै युवाहरुलाई उद्यमशीलतामा प्रोत्साहन गर्ने, वर्तमान समयमा सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पु¥याउने, आधुनिक सूचना प्रविधिको अधिकतम् सदुपयोग गरी औद्योगिक विकासमा प्रयोग हुने आधार तयार गर्ने, तीनै तहका सरकारका औद्योगिक कार्यक्रमहरुको लक्षित उद्योगीहरुसम्म पु¥याउन सहयोग पुग्ने विश्वास लिइएको छ ।

त्यस्तै, प्रदर्शनी अन्तर्गत नै कम्प्युटर एसोसिएसन नेपाल महासंघ, चितवनसँगको सहकार्यमा “चितवनको सम्बृद्धि सूचना प्रविधि” भन्ने मुल ध्येय राखी “छैँटौ टेकमाइण्ड नेटवर्क क्यान इन्फोटेक चितवन २०८१” आयोजना गरिएको छ ।

प्रदर्शनी अवधिभर शून्य प्रतिशत ब्याजदर सहित किस्ताबन्दीमा ल्यापटप तथा मोवाइल खरिद गर्न पाईने, कम्प्युटर, ल्यापटप तथा प्रिन्टरहरुको एक्सचेन्ज तथा निःशुल्क मर्मत सेवा, विभिन्न ब्राण्डका स्मार्ट इन्टरएक्टिभ बोर्डहरुमा विशेष छुट लगायतका सुविधा तथा सहुलियत प्रदान गरिने आयाेजकले जनाएकाे छ ।