नीति तथा कार्यक्रम र बजेटमा सूचना प्रविधि क्षेत्रलाई प्राथमिकतामा राख्छौँ: मन्त्री शर्मा


काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले २०८१\ ०८२ को नीति तथा कार्यक्रम र बजेटमा सूचना प्रविधि क्षेत्रलाई प्राथमिकता दिने बताएकी छन् । आइतबार मन्त्रालयमा सूचना प्रविधि क्षेत्रका अन्तर्राष्टिय प्रतिनिधिहरूसँगको भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् ।

उनले नेपालबाट गत आर्थिक वर्षमा मात्रै ६७ अर्ब बराबरको सफ्टवेयर निर्यात भइरहेको एक अध्ययनबाट देखिएको बताइन् । मन्त्री शर्माले युवा पलायन रोक्न, देशभित्रै रोजगारी सिर्जना गर्न र बिना अवरोध स्वतन्त्र रुपमा सफ्टवेयर निर्यात गर्नसक्ने भएकाले सरकारले २०८१\०८२ को नीति तथा कार्यक्रम र बजेटमा सूचना प्रविधि क्षेत्रलाई प्राथमिकतामा राखेको बताइन् ।

उनले प्रविधि र प्रणालीहरूको सुरक्षित र जवाफदेही प्रयोग, एवं डिजिटल इकोसिस्टम निर्माणका लागि आवश्यक कानुनहरू सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, सामाजिक सञ्जाल व्यवस्थापन तथा सञ्चालन सम्बन्धी विधेयक निर्माणलाई तीव्रता दिएको पनि बताए ।

उनले विश्व अर्थतन्त्र नै शिथिल भएको अवस्थामा सञ्चार तथा सूचना प्रविधिको प्रयोग गर्दै प्रविधिमैत्री संरचना र सोही बमोजिम दक्ष जनशक्ति व्यवस्थापन गर्नसके सुशासन र आर्थिक समृद्धि हासिल गर्न सकिने सरकारको बुझाइ रहेको बताइन् । शिक्षा, स्वास्थ्य र अन्य सेवा क्षेत्रमा समेत सूचना र प्रविधिको क्षेत्रमा बढोत्तरी भएको दाबी उनको थियो ।

शर्माले नेपालजस्तो भूपरिवष्ठित देशले सूचना प्रविधि उद्योगमार्फत रोजगारी सिर्जनाका साथै निर्यात प्रवद्र्धन गर्दै देशको अर्थतन्त्रलाई सुदृढ र विकसित गर्नुपर्ने बताइन् । सूचना प्रविधि उद्योगलाई एकै थलोबाट सञ्चालन गर्न आइटी पार्क, सूचनाप्रविधि हबजस्ता अवधारणालाई पनि सरकारले नजिकबाट हेरिरहेको बताए ।

मन्त्री शर्माले सूचना तथा प्रविधिको विकास, बिस्तार र लगानीका सन्दर्भमा सरकार गम्भीर रहेको बताइन् । उनेले देशमा लगानी भित्र्याउन आवश्यक कानून परिमार्जनका लागि सरकार सक्रियतापूर्वक लागिरहेको पनि बताइन् ।