५० करोड रुपैयाँको छाता लगायतका सामान आयात


काठमाडौँ । आर्थिक वर्ष २०८०/८१ को पहिलो ९ महिनामा ५० करोड रुपैयाँ बराबर छाता लगायतका सामानहरु आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार छाता, लौरो, सिट स्टिक, ह्विप्स, राइडिङ कप्स र तिनीहरुको पार्टपुर्जाहरु आयात भएको हो ।

पछिल्लो ९ महिनामा नेपालले ५० करोड १ लाख ९० हजार रुपैयाँ बराबरको यी सामानहरु आयत गरेको हो । सरकारले १५ करोड १ लाख ४५ हजार रुपैयाँ आयात रेभेन्यू उठाएको छ । भन्सार विभागको तथ्यांक अनुसार नेपालले २ लाख ६४ हजार रुपैयाँ बराबरको यी सामानहरु निर्यात पनि गरेको छ ।

नेपालले चालू आर्थिक वर्षको ९ महिनामा ११ खर्ब ६७ अर्ब ३६ करोड ९८ लाख ८ हजार रुपैयाँ बराबरको सामान आयात गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २.८४ प्रतिशतले कम हो ।

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा नेपालको निर्यात ३.६६ प्रतिशतले घटेको छ । नेपालले १ खर्ब १३ अर्ब ९४ करोड ६० लाख ७ हजार रुपैयाँ बराबरको निर्यात गरेको हो ।

नेपालले कुल वैदेशिक व्यापार १२ खर्ब ८१ अर्ब ३१ करोड ५८ लाख १५ हजार रुपैयाँ बराबर गरेको छ । नेपालको वैदेशिक व्यापार घाटा १० खर्ब ५३ अर्ब ४२ करोड ३८ लाख १ हजार रुपैयाँ रहेको भन्सार विभागले जनाएको छ ।