जनतामा तत्काल आशा जगाउने योजना कार्यान्वयन गर्न सम्बन्धित निकायलाई प्रधानमन्त्रीको निर्देशन


काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहालले उत्पादन वृद्धि, रोजगारी सृजना हुनेजस्ता जनतामा तत्काल आशा जगाउने योजनाहरु तत्काल अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

मंगलवार लगानी बोर्ड बैठकमा उनले अर्थमन्त्री वर्षमान पुन, मुख्य सचिव डा. वैकुण्ठ अर्याल र लगानी बोर्डका सिईओ सुशिल भट्टलाई सो निर्देशन दिएका हुन् ।

निजी क्षेत्रलाई विश्वासमा लिएर मात्रै मुलुकको विकास हुने भएकाले त्यस अनुकुल हुनेगरी सरकारले अध्यादेशमार्फत ९ वटा ऐन संशोधन गर्न लागेको पनि उनले स्पष्ट पारे ।

प्रधानमन्त्री दाहालले निजी क्षेत्रलाई विश्वासमा लिएर विकासको कामलाई अघि बढाउने कुरामा नडराउन पनि कर्मचारी प्रशासनलाई सचेत गराए ।

उनले कर्मचारी प्रशासनले आफूहरुको स्पिड अनुसार काम गर्न नसकेको गुनासो गर्दै नयाँ ढंगले काम गर्न पनि निर्देशन दिए ।  प्रधानमन्त्री दाहालले लगानी सम्मेलन लगानीका लागि नयाँ सन्देश दिने गरी सम्पन्न हुनेगरी तयारी गर्नुपर्ने पनि बताएका छन् । 

प्रधानमन्त्री दाहालले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमा सरकारले साना सिंचाईको कार्यक्रमलाई विशेष व्यवस्था गर्ने पनि उल्लेख गरे । उत्पादन बढाउने, रोजगारी पनि दिने भएकाले सरकारले यस्ता साना कार्यक्रमलाई विशेष जोड दिन चाहेको प्रधानमन्त्री दाहालको भनाई थियो ।