कतारका राजाको नेपाल भ्रमणः नेपालको लागि अवसर

कतारी राजाको नेपाल भ्रमण


काठमाडौँ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुई दिने राजकीय भ्रमणका लागि आज नेपाल आएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणमा उनी दुई दिने भ्रमणका लागि मंगलबार अपराह्न काठमाडौँ आइपुगेका छन् ।

उनको नेपाल भ्रमणले नेपाललाई श्रमको गन्तव्य मात्रै नभएर लगानीको स्रोत पनि बन्न सक्ने वहस अहिले चारैतिर भएकोे छ । विश्वको नक्सामा एउटा सानो भूपरिवेशष्टित देश नेपालको छुट्टै पहिचान छ । भौगोलिक आधारमा छुट्टै पहिचान भएझैं कतारसँग नेपालको मितेरी सम्बन्ध पनि पृथक् रहेको छ ।

सायदै नेपाल विश्वका ती थोरै देशहरूमध्येको देश हो जसको शत्रु अत्यन्तै थोरै र मित्र धेरै छन् । यो मैत्री सम्बन्ध जहिलेबाट प्रारम्भ भयो आजको मितिसम्म दिनानुदिन प्रगाढ, पारस्परिक र विस्तार हुँदै गएको छ । अनि सम्बन्ध पनि विशेष प्रकारको छ । चाहे त्यो चीन, भारत, जापान तथा पश्चिमेली मुलुक वा खाडीका अरब मुलुकसँग नै किन नहोस् । मध्यपूर्वको अति आकर्षणको केन्द्र रहेको खाडी मुलुकको कतारसँग नेपालको सम्बन्ध झनै विशेष छ ।

यसको प्रमाण १२ लाखभन्दा बढी नेपालीको उपस्थितिले पनि देखाउँछ । अमिर शोखको कूटनीतिक सफलताको परिणामस्वरूप उच्चस्तरीय भ्रमणहरू हुन लागेको छ । उसो त नेपालका विभिन्न भूभागबाट गएका नेपालीहरुलाई कतारले रोजगरीका लागि अवसर पनि दिइरहेको छ ।

जसले गर्दा थोरै भएपनि नेपालीको जीवनस्तर उकास्दा देशको विकासमा टेवा पुगेको छ । कुल क्षेत्रफल ११ हजार ५७१ किलोमिटर मात्रै रहेको कतारमा कुल जनसंख्या २६ लाख हाराहारी जनसंख्या छ ।

कतारबाट नेपालले लिने लाभ

भ्रमणको बेलामा नेपालले कतारसँग लगानीका विषयलाई प्रथामिकतामा राखेर हेर्नुपर्छ । जलविद्युत् क्षेत्रमा लगानी बढाउने, विमानस्थल निर्माण, शिक्षा, प्राविधिक शिक्षाका विषय र कृषि उत्पादन कतारका बिक्री वितरणको वातावरण बनाउने लगायतका विषयलाई प्रथामिकता राख्न जरुरी छ ।

उसो त कतारको सन् २०३० भिजनमा कतार आफ्ना नागरिकलाई उच्च शिक्षा र उनीहरूको दक्षतालाई विकास गर्ने उद्देश्य लिएर तीव्र रूपमा अगाडि बढिरहेको छ । अर्कोतर्फ उर्जा क्षेत्रमा जुन उच्चता र विशेषता हासिल गरेको छ । त्यसबाट प्राप्त हुने प्रत्यक्षलाभ र फाइदाबाट नन पेट्रोलियम क्षेत्रमा पनि एउटा अग्रस्थान हासिल गर्ने कतारको लक्ष्य रहेको छ । जसमा त्यसको प्रत्यक्ष लाभ नेपालले लिन सक्ने कैयौं सम्भावनाहरू छन् । जस्तै कतारमा उत्पादन हुने आल्मोनियम, स्टिल, पेट्रोलियम र विभिन्न प्रकारका ठूला ठूला उद्योगहरूबाट नेपालमा रहेको उद्योगहरुले लाभ लिन सक्छन् । जहाँ नेपालले यस विषयमा सोच्नको लागि आवश्यक छ ।

अब आगामी दिनहरूमा यो सम्बन्ध व्यापारिक, सामाजिक, आर्थिक, शैक्षिक, सांस्कृतिक विकासतर्फ मोड्न समेत जरुरी छ । कतार राज्यको मुख्य विकास र उन्नतिका निम्ति मुख्य तीन उद्देश्य शिक्षा, खेलकुद र भौतिक पूर्वधारमा अगाडि बढ्नु अपरिहार्य छ । यस सम्बन्धलाई जहाँ प्रत्यक्ष रूपमा विकास गर्न सकिन्छ भने त्यही संयुक्त रूपमा पनि आपसी समझदारीको माध्यमबाट लगानीको वातावरण तयारी अग्ररूप दिन सकिन्छ ।

नेपाल वातावरणीय रूपले विश्वमै एउटा नमुना देश हो । देशमा रहेको पर्यटन, कृषि, प्राकृतिक जडीबुटी, पानीका मुहानहरू प्राकृतिक क्षेत्रहरू हुन् । जो कतार नेपालको सम्बन्ध विस्तारमा कतार मात्रैको लागि नभई समग्र खाडीका देशको आकर्षणको केन्द्र बन्न सक्छ ।

यस क्षेत्रका नागरिक, व्यवसायीहरू यहाँभन्दा आफ्नो देशभन्दा बाहिर देशमा लगानी गर्न रुचाउँछन् । त्यस्तै नेपालबाट ठूलो संख्यामा नेपाली कामदार विदेश गएका छन् । उनीहरुले विप्रेषण मात्रै नभइ विभिन्न खालका सीप पनि सिकेका छन् । नेपाली विदेश मात्र जाने नभइ उत्तिकै मात्रामा फर्किन पनि थालेका छन् ।

त्यो सीपलाई सही ठाउँमा लगाउनका लागि साना स्टार्ट अपबाट उद्यमशीलता सुरुवात गर्न सकियो भने देशको विकास र श्रमिकको हितका लागि पनि काम हुन्छ । नेपालले यी क्षेत्रमा गहिरो अध्ययन तथा प्रोजेक्टमा योजना बनाउन खाँचो पनि रहेको छ भने यी क्षेत्रसँग सम्बन्ध राख्ने नेपालका निकायले सम्भाव्यता अध्ययन गरी उल्लेखनीय राष्ट्रका निकायसमक्ष पु¥याउन सफल भएमा नेपाल विश्वकै आकर्षणको केन्द्र तथा अर्को स्विजरल्यान्डमा परिणत हुन धेरै समयमा लाग्दैन ।

नेपालको तयारी

कतारी राजा शेख तमिम बिन हमाद अल थानीको दुई दिने नेपाल भ्रमणका क्रममा विभिन्न मन्त्रालयका पाँच वटा परियोजनामा मात्र सम्झौता हुने भएको छ। शिक्षा, युवा तथा खेलकुद, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, उर्जा मन्त्रालय अन्तर्गत सम्झौता गर्नेगरी योजना तयार पारिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

अन्य योजनाहरुमाथि सोमबार मन्त्रालयमा अबेरसम्म छलफल भएको थियो। तर, नेपालले लगेका एक दर्जनबढी प्रस्तावका सर्त कतारी पक्षले स्वीकार नगर्दा पहिले नै टुंगो लागेका सम्झौतामा मात्र हस्ताक्षर हुने भएको छ । त्यस्तै नेपाली पक्षले कतारमा रहेका नेपाली कामदारको समस्या र पीडा उठाउने, नयाँ श्रम सम्झौतामा हस्ताक्षर गर्न र खाडी मुलुकमा रहेका नेपाली आप्रवासी कामदारका लागि बृहत् विमाको व्यवस्था गर्न अनुरोध गर्ने नेपालको तयारी रहेको छ ।

कुटनीति सम्बन्ध

नेपाल र कतारको कुटनीतिक सम्बन्ध सन् १९७७ जनवरी २१ देखि स्थापना भएको हो । सन् १९७७ देखि स्थापना भएको कुटनीतिक सम्बन्ध अहिलेसम्म पनि निरन्तर रुपमा चलिरहेको छ ।

नेपालले कतारको दोहामा सन् २००० मा दुतावास खोलेको थियो भने कतारले काठमाडौँमा सन् २०११ मा आफ्नो दुतावास स्थापना गरेको हो । त्यसभन्दा अघि भारतको दिल्लीमा रहेको दुतावासले नै नेपाललाई हेर्दै आइरहेको थियो ।

विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने पहिलो कतारी नागरिक शेख मोहम्मद बिन अब्दुल्लाह अल थानी हुन् । उनले सन् २०१३ मे २२ मा सगरमाथाको सफल आरोहण गरेका थिए । २०६३ सालमा नेपालका तत्कालिन परराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले कतारको भ्रमण गरेर नेपाली जनशक्ति रोजगार सम्बन्धी द्विपक्षीय सम्झौता हस्ताक्षर गरेका थिए ।

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले अर्थमन्त्री तथा नेपाली प्रतिनिधि मण्डलको नेताको हैसियतमा वि स २०६३ सालमा मनटेर्री कनसेन्ससको कार्यान्वयनको समीक्षा गर्न विकासको लागि वित्तीय सम्बन्धमा अन्तर्राष्ट्रिय सम्मेलनको फलोअपमा गएका थिए ।

त्यस्तै सन् २००८ मा नेपाली जनशक्तिको रोजगारी नियमन सम्बन्धी सम्झौताको प्रोटोकलमा श्रम तथा यातायात मन्त्री रमेश लेखकले हस्ताक्षर गरेका थिए भने सन् २००९ मा पूर्व परराष्ट्रमन्त्री उपेन्द्र यादवले कतारको अनौपचारिक भ्रमण गरेका थिए ।

नेपालमा लोकतन्त्र स्थापना भएपछि पहिला राष्ट्रपति रामवरण यादवले २०११ अक्टोवर १० देखि १३ गतेसम्म कतारको औपचारिक भ्रमण गरेका थिए ।

सन् २०१४ मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निजी भ्रमण गरेका थिए । विभिन्न समयमा नेपालका विभिन्न उच्च अधिकारीहरु तथा नेताहरुले कतारको भ्रमण गरेका छन् ।

कतारका महान्यायाधिवक्ता डा. अल बिन फेताइस अल मरीले सन् २०१४ मा, श्रम तथा सामाजिक मामिलामन्त्री अब्दुल्लाह सालेह मुबारक अल खुलाईफीले सन् २०१५ मा नेपालको भ्रमण गरेका थिए ।

रोजगारीको गन्तव्य

विश्व बैंकको ‘माइग्रेसन एन्ड रेमिट्यान्स’ प्रतिवेदनअनुसार हाल कतार २ लाख ५३ हजार नेपाली कार्यरत छन् भने उनीहरूले १ अर्ब ९ करोड ९० लाख अमेरिकी डलर बराबरको रेमिट्यान्स हरेक वर्ष नेपाल पठाउने गरेका छन् । कोभिड महामारीपछि कतार जाने नेपालीहरुको संख्या घटेको हो ।

व्यापार सम्बन्ध

नेपालले कतारमा पास्ता, गलैँचा, चाउचाउ चिया लगायतका सामानहरु निर्यात गर्ने गरेको छ । कतारबाट नेपालमा इथिलिनको पोलिमर, पेट्रोलियम पदार्थ र बिटुमिनस खनिज आयात हुने गरेको तंथ्याकले देखाएको छ ।

कुरिलो, अदुवा, कपासको बोरा र झोला, च्यवनप्राश, हर्बल भिटामिन, कार्पेट, मिनरल्स वाटर, कार्पेट लगायतका सामान निर्यात हुने गरेको छ । सुन, सुनका गहना, युरिया, पेट्रोलियमन बिटुमिन, पोलिथिन, स्मार्टफोन, ब्ल्याङकेट, टेलिभिजन लगायतका सामानहरु नेपालले आयात गर्ने गरेको छ ।

कतारसँग नेपालको व्यापार घाटा बढ्दो अवस्थामा रहेको भन्सार विभागको तथ्यांकले देखाएको छ । आर्थिक वर्ष २०७६÷७७ देखि २०८०÷८१ को चैतसम्म कतारसँग नेपालको व्यापार घाटा १८ अर्ब ५२ करोड ८१ लाख २५ हजार रुपैयाँ रहेको छ ।

यो अवधिमा नेपालले १८ अर्ब ८७ करोड २७ लाख ४६ हजार रुपैयाँ बराबरको आयात गरेको छ भने ३४ करोड ४६ लाख २२ हजार रुपैयाँ बराबरको मात्र निर्यात गरेको भन्सार विभागको तथ्यांकले देखाएको छ ।

त्यस्तै व्यापारको विषयलाई हेर्दा नेपाल र कतार बिच सन् २००२ मा हवाई सेवा सम्झौता भएको थियो । कतार एयरवेयजले नेपालमा दैनिक उडान भर्दै आइरहेको छ ।

नेपाल र कतार बिच सन् २००५ मा नेपाली जनशक्ति रोजगार सम्बन्धी द्विपक्षीय सम्झौता र त्यसको अतिरिक्त प्रोटोकल २००८ मा हस्ताक्षर भएको थियो । कतारमा करिब ३ लाख ७० हजारदेखि ४ लाखसम्म नेपाली कामदार रहेको अनुमान गरिएको छ ।