हिमालयन हाइड्रो एक्स्पोको तयारी पूरा, लगानी सम्मेलनलाई सहयोग पुग्ने अपेक्षा


काठमाडौँ । वैशाख १२ गतेदेखि काठमाडौँमा हुन लागेको चौथो हिमालयन हाइड्रो एक्स्पोको तयारी पूरा भएको छ । एक्स्पो वैशाख १२ गते (बुधवार) बाट १४ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा सुरू हुनेछ । पहिलो दिन बुधवार बिहान साढे ६ बजेबाट स्काई टावरदेखि विद्युतीय सवारीसाधनहरूको र्‍याली सुरू हुने स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था (इप्पान) का अध्यक्ष गणेश कार्कीले बताए । र्‍यालीमा ३ सय भन्दा बढी विद्युतीय सवारीसाधनहरू हुने इप्पानले जनाएकाे छ ।

स्काइ टावरबाट बानेश्वर हुँदै कोटेश्वर, सातदोबाटो, एकान्तकुना हुँदै कुपण्डोल, लैनचौरबाट प्रधानमन्त्री कार्यालय घुमेर भृकुटीमण्डपमा लगेर अन्त्य गर्ने र हिमालय एक्स्पोको शुभारम्भ गर्ने कार्यक्रम रहेको बताए । उर्जाको क्षेत्रमा लगानी किन गर्ने, फाइदा र समस्याहरू केके छन् ? भन्नेबारेमा विभिन्न चरणमा छलफल हुने बताए ।

अध्यक्ष कार्कीले जलविद्युत र उर्जासँग सम्बन्धित सामानहरू प्रदर्शनी गर्ने र बेच्ने भन्दा बाहेकका कुराहरू विगतमा नहुने गरेको भएपनि यस पटकको मेलामा भने विभिन्न चरणमा उर्जा क्षेत्रका समस्या, समाधान, लगानीका बारेमा विस्तृत रूपमा छलफल हुने र अन्ततः लगानी सम्मेलनलाई एक्स्पोले सहयोग पुर्‍याउने विश्वास रहेको बताए । सन् २०३५ सम्ममा सरकारले लिएको २८ हजार ५ सयको विद्युत उत्पादनको योजना सफल बनउनका लागि पनि एक्स्पोले भुमिका खेल्ने बताए ।

अध्यक्ष कार्कीले नेपालमा लगानी गर्ने राम्रो वातावरण रहेको सन्देश विदेशी लगानीकर्ताहरूलाई दिन आवश्यक रहेको बताए । उनले एक्स्पोले सरकारले गरेको लगानी सम्मेलनलाई पनि धेरै ठूलो सहयोग पुग्ने बताए । उनले देश अहिले उर्जामय भएकाले उर्जाको क्षेत्रमा लगानी गर्न धेरै लगानीकर्ताहरू इच्छुक रहेको बताए ।