नेपाल लाइफ सुनौलो भविष्य जीवन बिमा योजना सार्वजनिक


काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल लाइफ केटाकेटी सुनौलो भविष्य जीवन बिमा योजना सार्वजनिक गरेको छ।

कम्पनीको प्रधान कार्यालय कमलादीमा आज (मंगलबार) आयोजित विशेष समारोहकाबिच सो योजना सार्वजनिक गरिएको हो। कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले बिमा योजनाको अनावरण गरेका हुन्।

‘सुरक्षा, बचत र पेन्सनको साथ, सुनौलो भविष्यको सुरुवात’ भन्ने नाराका साथ नेपाल लाइफ सुनौलो भविष्य जीवन बिमा योजना सार्वजनिक गरिएको हो।

एउटै बिमा योजनाबाट दुई किसिमको सुविधा प्राप्त गर्न सकिने यो जीवन बिमा योजना सावधिक अग्रिम भुक्तानी तथा आजीवन बिमा (मुनाफामा सरिक हुने) हो जसमा बिमितको प्रवेश उमेर १८ वर्ष देखि ६५ वर्ष रहने तथा न्यूनतम बिमा शुल्क भुक्तानी अवधि ५ वर्षदेखि अधिकतम बिमा शुल्क भुक्तानी अवधि ३५ वर्षसम्म हुनेछ। यो योजनाको न्यूनतम बिमांक २५ हजार तथा अधिकतम बिमांक रकम आयश्रोतको आधारमा निर्धारण गर्न सकिनेछ।

कम्पनीका अनुसार यो योजना मार्फत आमाबाबुले आफ्नो बच्चाको सुनौलो भविष्य, गुणस्तरीय शिक्षा सुरक्षित छ भनी सुनिश्चित गर्न सक्ने र शैक्षिक खर्चदेखि लिएर बलियो आर्थिक सुरक्षा यस बिमा योजनाले प्रदान गर्नेछ ।

आफू तथा आफ्नो परिवारलाई आर्थिक संकटको सामना कहिल्यै पनि गर्न नपरोस् र आफ्नो वृद्ध अवस्थासम्म पनि आफू आर्थिक रुपमा कसैको भर पर्न नपरोस् भन्ने सामाजिक मनोविज्ञानलाई आत्मसाथ गर्दे एकै बिमा योजनाबाट दुई किसिमको सुविधा उपयोग गर्न पाउने गरी नेपाल लाइफले ‘नेपाल लाइफ सुनौलो भविष्य जीवन बिमा योजना’ सार्वजनिक गरेको हो।

यो योजनाले न्युन बिमा शुल्कमा बचत र सुरक्षा एकै साथ प्रदान गर्दछ। यो योजना अन्तर्गत जोखिम बहनको अतिरिक्त बिमितलाई बिमालेख अवधिभर बचत गर्न प्रोत्साहन गर्ने कम्पनीले जनाएकाे छ ।