राष्ट्रपति पौडेल र कतारका राजा थानीबिच शिष्टाचार भेट, के भयो कुराकानी ?

कतारी राजाको नेपाल भ्रमण


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीबिच शिष्टाचार भेटवार्ता भएको छ ।

मंगलवार राष्ट्रपति भवन शितल निवासमा द्विपक्षीय भेटवार्ता भएको हो । राजा थानीलाई स्वागत गर्न राष्ट्रपति पौडेल विमानस्थल पुगेका थिए । विमानस्थलबाट राजा थानी सिधा शितलनिवासमा गएका हुन् । भेटमा दुवै मुलुकको आपसी सम्बन्धलाई थप मजबुत बनाउने विषयमा छलफल भएको छ । नेपाल र कतारबिच रही आएको मैत्रीपूर्ण सम्बन्ध, आपसी हित र चासोका विविध विषयमा छलफल भएको छ ।

राष्ट्रपति पौडेलले अमिरको दूरदर्शी नेतृत्वमा कतारले गरेको दिगो विकास र समृद्धि देखेर धेरै खुसी लागेको बताउँदै मुलुकलाई एक उच्च विकसित राष्ट्र बनाउने अमिरको दीर्घकालीन सोच र दृढ अठोटको प्रशंसा गरेका थिए । भेटवार्ता पछि अमिर अल थानीले राष्ट्रपति कार्यालयमा राखिएको आगन्तुक पुस्तिकामा हस्ताक्षर गरे ।

त्यस्तै पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई जोगाउने, पानीको स्रोत बचाउने र वातावरण सन्तुलन राख्नेजस्तो साझा चासोको मुद्दामा सहकार्यका लागि कतारलाई आग्रह गरेका छन् ।

उक्त विषयमा कतारका अमिरले जलवायु परिवर्तनको असरले विश्व नै समस्यामा परेको र यसको न्यूनीकरणसम्बन्धी सम्झौताहरुको सबै मिलेर पालना गरे राम्रो परिणाम आउने र सबैका लागि सुखद् वातावरण तयार हुने बताए ।

भेटवार्तामा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, ऊर्जा तथा जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्रसचिव सेवा लम्साल, राष्ट्रपति कार्यालयका सचिव डिल्लीराम शर्मा, प्रमुख स्वकीय सचिवसहित राष्ट्रपतिका विज्ञ एवं सल्लाहकार सहभागी रहेको थियो ।