१५ वर्ष कृषिलाई प्राथमिकता दिन जरुरीः कृषिमन्त्री साह


काठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले कृषि क्षेत्रमा कायापलट ल्याउन अबको १५ वर्ष कृषिलाई प्राथमिकता दिनुपर्ने बताएकी छन् ।

बुधवार प्रतिनिधि सभा अन्तर्गतको कृषि,सहकारी तथा प्राकृतिक स्रोत समिति बैठकमा बोल्दै कृषिमन्त्री ज्वालाले यस्तो बताएकी हुन् । उनले ऊर्जा,जलस्रोत तथा सिंचाई मन्त्रालय,अर्थ मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले समेत प्रमुख प्राथमिकता कृषिलाई दिए अबको १५ वर्षमा कृषि क्षेत्रमा कायापलट हुने दाबी गरिन् ।

कृषि क्षेत्रमा धेरै समस्या र चुनौतीहरू रहेको भन्दै त्यसलाई सुधार गर्न जरुरी रहेको भन्दै आफू त्यो कार्यमा जुटेको पनि मन्त्री साहको भनाई छ । उनले कृषिलाई प्राथमिकता दिँदा आम जनतामा सुखको अनुभुति हुनुको साथै मुलुक समेत समृद्धिको बाटोमा जाने दाबी गरिन् । मन्त्री साहले कृषि मन्त्रालयसँग १२ करोड बजेट भएपनि कृषि क्षेत्रबाट आएको माग साढे १६ अर्बको बराबरको रहेको बताइन् ।

मन्त्री साहले समयमा किसानलाई रासायनिक मल उपलब्ध गराउनको लागि जिटुजीमार्फत कार्यविधि,कानून नियम र नियमावली भित्रै बसेर छोटो बाटोबाट मल ल्याउने प्रक्रिया अपनाउन आवश्यक रहेको बताइन् । उनले मल खरिद प्रक्रियामा जाँदा नेपालमा ८७ दिन लाग्ने र विदेशको समेत गरी १४ महिना समय लाग्ने अवस्था रहेको भन्दै अब त्यसलाई एक महिनादेखि ४५ दिनभित्रमा मल आउने गरी प्रक्रिया बनाउन जोड दिइरहेको बताइन् ।

मन्त्री साहले सरकारले कुनैपनि निर्णय गर्दा व्यहारमा कार्यान्वयन गर्नेगरी गर्न आवश्यक रहेको बताइन् । उनले कोल्ड स्टोरेजलाई विद्युतमा ५० प्रतिशत अनुदान दिनुपर्छ भन्ने पक्षमा आफू रहेको बताइन् । उनले राम्रो काम गर्ने र वास्तविक नेपाली माटोमा उत्पादन भएको वस्तुहरुलाई सुरक्षित राख्नको लागि लाई सहुलियत हुन आवश्यक रहेको बताइन् ।