१६ औं पञ्चवर्षीय योजना सनातनी र परम्परागत भयोः उपप्रधानमन्त्री यादव


काठमाडौँ । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले १६ औँ पञ्चवर्षीय योजनामा कृषि, पर्यटन, ऊर्जाको क्षेत्रलाई प्राथमिकता दिन नसकेको बताएका छन् ।

बिहीवार काठमाडौंमा भएको राष्ट्रिय विकास परिषद्को बैठकमा बोल्दै उनले कृषिलाई औद्योगीकरण गरेर मात्रै गरिबीहरूको बेरोजगारी घटाउन सकिने भए पनि कृषि क्षेत्र सरकारको प्राथमिकतामा पर्न नसकेको गुनासो गरे । उनले उद्योग धन्दाहरू सञ्चालन गर्ने, शिक्षा, स्वास्थ्यको क्षेत्र पनि सरकारको प्राथमिकतामा नपरेको बताए ।

उनले विगतमा अत्यधिक मुनाफामा सञ्चालित रहेका उद्योगहरू गलत नीतिका कारण र निजीकरण, उदारीकरणको बढी प्रभावमा बहकिँदा बन्द भएको बताए । यादवले बन्द भएका उद्योगहरू कसरी सञ्चालन गर्ने भनेर १६ औँ पञ्चवर्षीय योजनामा नराखिएको बताए । उनले नयाँ उद्योगहरू खोल्ने र लगानी गर्ने वातावरण कसरी सिर्जना गर्ने रु भन्ने कुरा पनि प्राथमिकतामा नपरेको बताए ।

उपप्रधानमन्त्री यादवले प्राथमिकता दिँदा शैक्षिक, आर्थिक रूपले अति छाडि परेका विपन्न वर्ग र मानवीय जीवनमा समेत मानवीय रूपमा बाँच्न नसकेका व्यक्तिलाई प्राथमिकतामा राखेर योजना बनाउनुपर्ने बताए । उनले योजना आयोगले पुरानो तौरतरिकाबाट अघि बढेर योजना बनाउन आवश्यक रहेको बताए ।

सङ्घीयता कमजोर भएर प्रदेशलाई अपाङ्ग बनाएर विकास हुन नसक्ने बताए । उनले १६ औँ पञ्चवर्षीय योजनामा सनातनी र परम्परागत योजनाहरू रहेको बताए ।