७.३ प्रतिशत आर्थिक विकासको लक्ष्य पूरा हुँदैन: प्रकाशशरण महत


काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतले १६ औँ पञ्चवर्षीय योजनाले निर्धारण गरेको ७.३ प्रतिशत आर्थिक विकासको लक्ष्य पूरा नहुने बताएका छन् ।

बिहीबार काठमाडौँमा भएको राष्ट्रिय विकास परिषद्को बैठकमा बोल्दै उनले राजनीतिक स्थायित्व आउन नसकेसम्म लक्ष्य प्राप्त हुन नसक्ने जिकिर गरे ।

उनले आवधिक योजनाको युटिलिटी समाप्त भइसकेको बताए । योजना आयोगको संरचनालाई नीति र कार्यान्वयन अनुगमन संयन्त्रको रुपमा विकास गर्न आवश्यक रहेको भन्दै उनले योजनाले लिएका लक्ष्य प्राप्तिका लागि समृद्ध नेपाल र सुखी नेपाली बनाउनको लागि अड्चनहरूको पहिचान गर्न आवश्यक रहेको बताए ।

पूर्व अर्थमन्त्री डा। महतले आउने आर्थिक वर्षमा ५ प्रतिशतसम्म मात्रै आर्थिक वृद्धि हुनसक्ने बताए । लक्ष्यअनुरुपको प्राथमिकता नहुँदा समस्या आइरहेको भन्दै उनले अहिलेको सबैभन्दा ठुलो समस्या साधरण खर्च रहेको बताए ।