नेपालमा विकासका लागि पर्याप्त पुँजी र उपयुक्त प्रविधिको अभाव छः देउवा


काठमाडाैँ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा विकासका लागि पर्याप्त पुँजी र उपयुक्त प्रविधिको अभाव रहेको बताएका छन् ।

आईतबारबाट शुरु भएको दुई दिने लगानी सम्मेलनलाई काठमाडौंमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपालमा विकासको प्रचुर सम्भावना रहेको बताए । विदेशी लगानीका लागि खुला क्षेत्र, कर नीति र आम्दानी फिर्ता गर्ने सन्दर्भमा नेपालको लगानी व्यवस्था अहिले उदार रहेको उनले जिकिर गरे ।

उनले विदेशी लगानीका लागि प्रायः सबै क्षेत्र खुला रहेको बताए । कृषि, पर्यटन, पूर्वाधार विकास, खानी तथा खनिज, उत्पादन, पर्यटन, जलविद्युत र सूचना प्रविधि जस्ता प्रमुख क्षेत्रमा स्वदेशी तथा विदेशी लगानीले परिवर्तनकारी प्रभाव छोड्न सक्ने उनले उल्लेख गरे ।

उनले नेपाललाई लगानीको आकर्षक गन्तव्यका रूपमा प्रवद्र्धन गर्न विभिन्न देशसँग द्विपक्षीय लगानी संरक्षण सम्झौता गर्न सरकार इच्छुक रहेको बताए । उनले सबै प्रमुख राजनीतिक दलहरू नेपालमा वैदेशिक लगानी प्रवद्र्धन गर्न र लगानीसम्बन्धी प्रमुख मुद्दाहरूमा सहमति कायम गर्न एकजुट हुन प्रतिवद्ध रहेको उल्लेख गरे । 

काँग्रेस सभापति देउवाले लोकतान्त्रिक ढाँचा अन्तर्गत आर्थिक विकासलाई अगाडि बढाउन बजार र निजी क्षेत्रको महत्वपूर्ण भुमिका रहेको बताए । सरकारले सामाजिक न्याय र नेपाली समाजका सबै खण्डहरूको समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न आफ्नो जिम्मेवारी नगुमाई लगानी र व्यवसायका लागि अनुकुल वातावरण सिर्जना गर्ने बताएका छन् । नेपालले विदेशी लगानीकर्ताहरूप्रति भेदभावपूर्ण नीति नअपनाएको उल्लेख गरे ।