लगानी सम्मेलनका विषयमा के भन्छन् स्वदेशी उद्यमी व्यवसायी?


काठमाडौँ। तेस्रो लगानी सम्मेलन शुरु भएसँगै स्वदेशी उद्यमी व्यवसायीहरुले सम्मेलनमा भएको सहभागिताले नेपालमा लगानीको वातावरण खुला भएको महशुस भएको प्रतिक्रिया दिएका छन् ।

सरकारले आयोजना गरेको तेस्रो लगानी सम्मेलन आईतवारदेखि काठमाडौंमा शुरु भएको छ । विदेशी तथा स्वदेशी लगानी भित्र्याउने उदेश्यले शुरु भएको लगानी सम्मेलन शुरु भएसँगै नेपाली उद्योगी व्यवसायीहरुले सरकारले नीतिगत सुधार गरी नीतिगत स्थिरता कायम गरे लगानीको गन्तव्य बन्नसक्ने अवस्था देखिएको बताए ।

स्वदेशी उद्यमी व्यवसायीहरुले सरकारले स्वदेशी तथा विदेशी लगानीको लागि आवश्यक नीतिगत सुधारहरु गर्न अझै धेरै आवश्यक रहेको बताए । उनीहरुले लगानी सम्मेलनमा लगानीकर्ताहरुको उपस्थिति उत्साहजन भएको भन्दै राम्रो लगानी प्रतिवद्धता आउने अपेक्षा गरे ।

उनीहरुले सरकारले राष्ट्रिय पुँजी निर्माण र विदेशी लगानीको वातावरण बनाउने लगानीमैत्री स्थिर कानून बनाउन आवश्यकता देखिएको बताएका छन्।

अध्यादेशमार्फत ९ वटा कानूनमा संशोधन गरी कानूनी सुधारमा सरकारले प्रतिवद्धता जनाए पनि अझै धेरै नीतिगत अफ्ठ्याराहरु रहेको प्रतिक्रिया व्यवसायीहरुको छ ।

व्यवसायीहरुले विगतका लगानी सम्मेलन जस्तो प्रतिवद्धता मात्रै जनाउने तर राज्यले चासो नदिने गरेको भन्दै सम्मेलन सकिएसँगै प्रतिवद्धता भए अनुसार कार्यान्वयनको लागि तदारुकता देखाउन जरुरी रहेको बताए ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले लगानी सम्मेलनमाको शुरुवातको दिन हेर्दा नेपालमा लगानीको वातावरण देखिएको बताए।

उनले अब नेपालमा लगानी गर्ने वातावरण बन्ने अवस्था देखिएको प्रतिक्रिया दिए।। लगानी सम्मेलमा प्रधानमन्त्रीदेखि विदेशी लगानीकर्ताहरु सबैले जलविद्युतको बारेमा चर्चा गरेकाले जलविद्युतमा लगानीमैत्री वातावरण बन्ने विश्वास बढेको भनाइ उनको छ।

उनले भने, “लगानी सम्मेलनको सुरुवातको दिन हेर्दा नेपालमा लगानीको वातावरण रहेको देखिएको छ । अब नेपालमा लगानी गर्नुपर्छ भन्ने अवस्था देखिएको छ । लगानी सम्मेलमा प्रधानमन्त्रीदेखि विदेशी लगानीकर्ताहरु सबैले जलविद्युत भनेका छन् । नेपालका जलविद्युतको स्कोप छ त्यसको लागि सरकारले लगानीमैत्री वातावरण बनाउने र लगानीमैत्री नीतिहरु बनाउने हो भने जलविद्युतमा लगानी आउने रहेछ भन्ने अवस्था देखिएको छ ।”

सरकारले तत्काल जलविद्युतमा लगानीमैत्री वातावरण बनाएर नेपाली निजी क्षेत्रलाई पनि समावेश गराएर लैजाने हो भने २८ हजार मेगावट उत्पादनमा सहज हुने भनाइ उनको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष कुल आचार्यले नेपालमा विदेशी भन्दा पनि गैरआवासीय नेपालीहरुको लगानी धेरै रहेको बताउनु भयो । उनले सरकारको नीतिगत समस्याको कारण लगानी सम्मेलनमा गैरआवासीय नेपालीहरुको भुमिका कम पाएको बताए।

आचार्यले ।धेरै क्षेत्रमा लगानी गरेका गैरआवासीय नेपालीहरुलाई अझ अन्य क्षेत्रमा लगानीका लागि प्रोत्साहन गर्न जरुरी रहेको चर्चा गर्दै विदेशी लगानीकर्तालाई आकर्षण गराएर यो सम्मेलनले मुलुकमा लगानीको वातावरण खुला छ भन्ने वातावरण बनाउन सक्नुपर्ने बताए।

आचार्यले विकसित देशहरुका लगानीकर्ताहरुलाई लगानीको लागि प्योकजमा सहुलियतहरु दिएर ठूला लगानीकर्ताहरु ल्याउने वातावरण सरकारले गर्न जरुरी रहेको बताए।

आचार्यले भने, “नेपालमा विदेशी भन्दा पनि गैरआवासीय नेपालीहरुको लगानी धेरै रहेको छ । तर नीतिगत समस्याको कारण गैरआवासीय नेपालीहरुको भुमिका कम पाएका छौं । ट्याक्स हेवन देश भनेर लगानीकर्ताहरुलाई स्वागत गर्न सक्नुपर्छ । भिसा फ्रि गरेर सबैलाई स्वागत गर्न सकोस् ।”

नेपाल डेरी एशोसिएशनका अध्यक्ष प्रह्लाद दाहालले लगानी सम्मेलनले आगामी दिनमा मुलुकमा राम्रो लगानीको सम्भावना आउने अवस्था देखिएको बताए।

उनले लगानी आउने वातावरणको लागि सरकारले आझै पनि कानूनी तथा नीतिगत सुधार गर्न आवश्यक रहेको बताए। लगानी सम्मेलनलाई लगानी सम्मेलनको रुपमा मात्रै नभएर लगानी भित्र्याउने माध्यमको रुपमा राज्यले लिन आवश्यक रहेको उनको भनाइ छ ।

दाहालले नेपाल सरकार र नेपाली उद्योगीहरुले लगानी गर्न नसक्ने क्षेत्रमा विदेशी लगानी ल्याउनु आवश्यक रहेकाले सरकारको वैदेशिक लगानीको नीति अनुसार लगानी आउने वातावरण नभएको भन्दै नीतिलाई सुधार गरेर सहज बनाउन आवश्यक रहेको बताए।

दाहालले भने, “सरकारले लगानी सम्मेलनलाई लगानी सम्मेलनको रुपमा मात्रै नभएर लगानी भित्र्याउने माध्यमको रुपमा निरन्तर लाग्नुपर्छ । नेपाल सरकार र नेपाली उद्योगीहरुले लगानी गर्न नसक्ने क्षेत्रमा विदेशी लगानी ल्याउन आवश्यक छ । आत्मनिर्भर भएका क्षेत्रमा भन्दा पनि ठूलो लगानी आवश्यक भएका क्षेत्रमा विदेशी लगानी ल्याउने वातावरण बनाउनु पर्छ । सरकारको वैदेशिक लगानीको नीति अनुसार लगानी आउने वातावरण छैन । नीतिलाई सुधार गरेर सहज बनाउनु पर्छ ।”

व्यवसायीहरुले मुलुकमा लगानी भित्र्याउनको लागि ८ वटा कानून संशोधन गरेर मात्रै नपुग्ने भन्दै अझै अन्य कानूनहरु परिमार्जन गर्न जरुरी रहेको जनाएका छन् । उनीहरुले राजनीतिक दल र सरकारले विदेशी लगानी र स्वदेशी पुँजी निर्माणको लागि दीर्घकालिन कानून बनाउनु पर्नेमा जोड दिए ।

उनीहरुले तत्कालको लागि अध्यादेश ल्याएर मात्रै स्वदेशी र विदेशीहरुले लगानीको सुरक्षित वातावरण महशुस गर्ने भन्दै सरकार परिवर्तन भएपनि लगानी सुरक्षाको लागि स्थायी कानून छ भन्ने सन्देश दिनुपर्ने बताए ।

सरकारले एकद्वार प्रणालीमा सर्भिस दिने वातावरण उद्यमीहरुलाई दिए मात्रै नेपाली र विदेशी लागनीकर्ता उत्साहित भएर लगानी गर्ने जनाए ।

आइतवार सुरु भएको तेस्रो लगानी सम्मेलन सोमवार सम्पन्न हुँदैछ । सम्मेलनमा कुल २ हजार १६३ जनाको सहभागी रहेको लगानी बोर्डको सचिवालयले जनाएको छ । विभिन्न ६० मुलुकबाट ६ सय ८० जनाले सहभागी जनाएकोमा भारतबाट एक सय ८६ र चीनबाट दुई सय ४० को सहभागिता रहेको बोर्डले जनाएको छ ।

—न्युज एजेन्सी नेपाल