रारा ताल क्षेत्रमा अस्ट्रेलियन लगानीमा पहिलो लक्जरी रिसोर्ट बन्ने


काठमाडौँ । नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्य रारा ताल क्षेत्रमा अस्ट्रेलियन लगानीमा पहिलो लक्जरी रिसोर्ट बन्ने भएको छ । रारामा बन्ने पहिलो लक्जरी रिसोर्टमा अष्ट्रेलियाको एक्सपर्ट ग्रुपले लगानी गर्ने भएको हो ।

तेस्रो नेपाल लगानी सम्मेलनका क्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङ तथा सचिव दीपक काफ्लेको उपस्थितिमा सम्झौतामा हस्ताक्षर भएको छ ।

सम्झौतामा एक्सपर्ट ग्रुपको तर्फबाट बद्रि अर्याल र सञ्जीव शर्मा तथा रारा होल्डिङ्स प्रा।लि।का तर्फबाट अभिषेक विक्रम शाहले हस्ताक्षर गरेका हुन् । समुन्द्र सतहदेखि ३ हजार ७ सय मिटर उचाईमा निर्माण हुने रिसोर्टबाट रारा ताल र त्यस क्षेत्रका हिमालहरुको उत्कृष्ट दृश्य देखिनुका आसपासका क्षेत्रहरूको दृश्यावलोकन समेत गर्न सकिनेछ ।

मुगुको छायानाथ रारा नगरपालिका, मुर्माटपमा ८० रोपनी क्षेत्रफलमा बन्ने लक्जरी रिसोर्टमा पहिलो चरणमा करिव ७० करोड रुपैयाँ लगानी हुनेछ । रिसोर्ट वातावरणमैत्री र स्थानीय संस्कृति झल्किने नेपाली डिजाइनमा निर्माण गरिने र स्थानीयस्तरमा उपलब्ध श्रोत तथा साधनको अधिकतम प्रयोग हुने बताइएको छ ।