अबको दशक आन्तरिक रोजगारी दशक हुनेछः मन्त्री अर्याल


काठमाडाैँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले अबको दशक आन्तरिक रोजगारी दशकको रुपमा मनाउने बताएका छन् ।

बुधवार काठमाडौंमा अन्तर्राष्ट्रिय श्रम दिवसको अवसरमा उनले यस्तो बताएका हुन् । उनले आन्तरिक रोजगारी सिर्जना गर्न र देशभित्रै रोजगारी स्थापना गर्नका लागि सानासाना व्यवसायहरुमा पनि जोड दिन आवश्यक रहेको बताए ।

उनले अबको एक दशक देशमा सिपमुलक तालिमहरु दिन मन्त्रालयले योजना बनाइ काम गरिरहेको जिकिर गरे । वैदेशिक रोजगारीमा जानेहरुलाई कसरी सुरक्षित गर्न सकिन्छ भनेर पनि काम गरिरहेको उनले बताए । 

मन्त्री अर्यालले देश समृद्ध बनाउन स्वदेशमै रोजगारी सिर्जना गर्न आवश्यक रहेको उल्लेख गरे । उनले शिक्षा नीति र बजारको माग नमिलेकाले अहिलेको प्रविधियुक्त मागलाई परिपूर्ति गर्ने गरी काम गरिरहेको बताए ।