नीति तथा कार्यक्रम र बजेटमा नव प्रवद्र्धन कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा


काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा नव प्रवद्र्धन कोष स्थापना गर्ने घोषणा गरेका छन् ।

बिहीवार काठमाडौंमा राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कोषका निम्ति आवश्यक कानून तर्जुमा गर्ने गृहकार्य अगाडि बढाइसकेको जिकिर गरे ।

उनले कोषबाट हुने कामले यस क्षेत्रमा गुणात्मक फड्को मार्ने विश्वास व्यक्त गरेका छन् । नेपालको इतिहासमा पहिलो पटक नवप्रवद्र्धनको निम्ति भनेर हाम्रो पुँजीगत बजेटको १ प्रतिशत छुट्याउन लागेको उनले बताए । उनले युवाहरुलाई देशभित्र आशा जगाउन र अर्थतन्त्रमा गुणात्मक सुधार गर्न पनि कोषले भुमिका खेल्ने बताएका छन् ।

सञ्चार तथा सूचना प्रविधिको विकास, बिस्तार र प्रयोगबाट नै आर्थिक, सामाजिक रुपान्तरण गर्न सकिन्छ भन्ने सरकारको दृढ विश्वास रहेको उनकाे भनाइ छ ।

उनले सूचना प्रविधिको विकास, बिस्तार र सुरक्षित प्रयोगलाई सुनिश्चित गर्न आवश्यक नीतिगत तथा कानूनी व्यवस्थाका लागि प्रतिवद्ध रहेको उल्लेख गरे। उनले सूचना तथा सञ्चार प्रविधि नीतिको परिमार्जन र सूचना प्रविधि तथा साइबर सुरक्षा सम्बन्धी कानून निर्माणको प्रक्रियामा रहेको जानकारी दिए ।

दिनानुदिन बढ्दै गइरहेको साइबर अपराध सम्बन्धी घटनाहरु, संवेदनशील प्रणालीमाथिको अनाधिकृत पहुँच, व्यक्तिगत एवं संस्थागत डाटा दुरुपयोगको विषयलाई नियमन तथा व्यवस्थापन गर्न तथा साइबर सुरक्षाको बढ्दो चुनौतिलाई मध्यनजर गर्दै नीति, कानून र संरचना निर्माण कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेको उनकाे भनाइ छ । राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० तर्जुमा गरी कार्यान्वयनको अवस्थामा रहेको उनले बताए । 

प्रधानमन्त्री दाहालले आगामी बजेटमा देशभित्रै केही गर्ने युवाहरुका निम्ति सुवर्ण अवसर सिर्जना हुने बताएका छन् । स्टार्टअप कार्यक्रमलाई एकीकृत गरी प्रभावकारी कार्यान्वयन गर्न सरकार गम्भीर रहेको उनले बताए ।