सञ्चार मन्त्रालयको चेतावनीः ‘सेवा अवरूद्ध हुने कार्य नगर्न नगराउनु’


काठमाडौँ। इन्टरनेट सेवा अवरूद्ध भएको विषयमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकाले ध्यानाकर्षण जनाएको छ। वर्डलिंक लगायत केही इन्टरनेट कम्पनीको इन्टरनेट व्याण्डविथ काटिँदा बिहीवार बेलुका ४ बजेदेखि इन्टरनेट प्रभावित बनेको छ।  

व्याण्डविथ खरिदवापत विदेशी मुद्रा भुक्तानीको सिफारिस नहुँदा रकम तिर्न नसकेपछि भारतीय कम्पनीले नेपालका केही कम्पनीका इन्टरनेट व्याण्डविच काटेको इन्टरनेट कम्पनीको आरोप गलत भएको मन्त्रालयको भनाइ छ । 

इन्टरनेट सेवा प्रदायकहरूले देशभित्र इन्टरनेट सेवा प्रदान गरेवापत ग्राहकबाट अग्रिम रूपमा महशुल लिने गरेको, यसरी लिएको महशुलबाट वार्षिक आयको २ प्रतिशत ग्रामीण दूरसञ्चार विकास कोष र वार्षिक कूल आम्दानीको ४ प्रतिशत रोयल्टी बुझाउनुपर्ने व्यवस्था दूरसञ्चार ऐन, २०५३ को दफा ३० र दूरसञ्चार नियमावली, २०५४ को नियम २६ मा रहेको छ । 

ऐन बमोजिम कम्पनीहरूले रोयल्टी नबुझाउनु समयमा नबुझाएका कारण विदेशी मुद्रा भुक्तानी सिफारिस नगरिएको भनाइ मन्त्रालयको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सेवा प्रदायकहरूलाई पटक पटक अनुरोध गरिसकेको अवस्था रहेको पनि मन्त्रालयले जनाएको छ। 

मन्त्रालयद्वार बिहीवार जारी विज्ञप्तिमा भनिएको छ, ”नियमावलीको नियम २६ मा (१) नियम १० को उपनियम (५) र (६) बमोजिम अनुमतिपत्र प्राप्त व्यक्तिले आफूले गरेको बार्षिक कूल आम्दानीको चार प्रतिशतले हुने रकम प्रत्येक वर्ष रोयल्टीको रूपमा नेपाल सरकारलाई बुझाउनु पर्नेछ र सो अवधिभित्र नबुझाएमा बुझाउन बाँकी रहेको रकमको दुई प्रतिशतका दरले प्रत्येक महिना थप दस्तुर लाग्नेछ।”

नेपाल दूरसञ्चार प्राधिकरणमा दर्ता भएका १२२ वटा इन्टरनेट सेवा प्रदायकहरू र २३ वटा नेटवर्क सेवा प्रदायकहरू मध्ये केही इन्टरनेट सेवा प्रदायकहरू बाहेक अन्य दूरसञ्चार सेवा प्रदायकहरूले नियमानुसार तिर्नु बुझाउनु पर्ने शुल्क बुझाएको मन्त्रालयले जनाएको छ । 

शुल्क बुझाउने सेवा प्रदायकहरूको विदेशी मुद्रा सटही सिफारिस नेपाल दूरसञ्चार प्राधिकरणको सिफारिसमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गर्ने कानूनी व्यवस्था बमोजिम नियमित रूपमा सिफारिस भईरहेको विज्ञप्तिमा उल्लेख छ। 

नेपालको ठुलो इन्टरनेट कम्पनीमा पर्ने वर्डलिंक कम्युनिकेसनले आधिकारिक सामाजिक सञ्जालमा सूचना जारी गर्दै सरकारले विदेशी मुद्रा सटही अनुमति नदिएको कारण इन्टरनेट काटिएको जानकारी गराएको छ । सुविसुले पनि साेही व्हाेराकाे सूचना जारी गर्दै छिटै सेवा सुचारू हुने जनाएकाे छ भने भायनेटले पनि सूचना जारी गरेकाे छ।

View Post

वल्डलिंक र अन्य केही सेवाप्रदायकको सेवा अवरूद्ध सरकारको कमजोरीका कारण भएको भन्ने समाचारप्रति पनि मन्त्रालयले असहमति जनाएको छ । 

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ,  “आम उपभोक्ताबाट अग्रिम रूपमा संकलन गरेको महशुलबाट कानून बमोजिम राज्यलाई तिर्न बुझाउन पर्ने ग्रामीण दूरसञ्चार विकास शुल्क तथा रोयल्टी रकम समयमा नबुझाई इन्टरनेट जस्तो अत्यावश्यक सेवा अवरूद्ध हुने गरी कोही कसैले कुनै कार्य नगर्न नगराउनु हुन सम्बद्ध सबैमा हार्दिक अनुरोध गरिन्छ।”

व्याण्डविथ मार्फत् नेपाली कम्पनीले भारतीय कम्पनीलाई तीन अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी छ । एक वर्षदेखि भुक्तानी नपाएपछि बिहीबार इन्टरनेटको व्याण्डविथ काटिएको हो । करिव ८० लाख ग्राहक यो घटना बाट प्रभावित बनेका छन् ।