स्वदेशमै रोजगारी सिर्जना गर्न घरेलु तथा साना उद्योग स्थापना आजको आवश्यकताः श्रममन्त्री अर्याल


काठमाडाैँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले मुलुकभित्रै रोजगारी सिर्जनाको लागि लघु,घरेलु तथा साना उद्योग स्थापना आजको आवश्यकता भएको बताएका छन् ।

बुधवार नेपाल घरेलु तथा साना उद्योग महासंघले आयोजना गरेको नेपाल १७ औं अन्तर्राष्ट्रिय औद्यौगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सवलाई सम्बोधन गर्दै हरेक दिन विमानस्थलका विदेश पलायन भइरहेका फोटोहरु सामाजिक सञ्जालमा देख्ने अवस्था अन्त्यको लागि मुलुकभित्रै रोजगारी सिर्जना आवश्यक रहेको बताए । उनले सरकारले अब हरेक कार्यक्रम त्यही नीति अनुरुप गर्ने तयारी रहेको जानकारी दिए ।

विदेशबाट फर्कने नेपाली नागरिकहरुलाई मुलुकभित्रै स्वरोजगार बनाउनको लागि सीपमुलक क्षेत्रमा काम गर्न नसकिएको उनले स्वीकार गरे । उनले सबै प्रदेश र स्थानीय सरकारसँग मिलेर श्रम मन्त्रालयले सातै प्रदेशमा श्रमाधान रोजगार मेलाको आयोजना गर्ने तयारी गरेको बताए । सरकारको अबको  प्रयास देशमा नै रोजगारी सिर्जना गर्ने रहेको उनकाे भनाइ थियाे । 

सरकारले सिटिभिटि र सीप विकास प्रशिक्षणमार्फत श्रमिकहरुलाई सीप सिकाउने प्रयास गरेको उनले बताए । उनले नेपाली उत्पादनलाई सरकारी निकायहरुमा प्रयोगमा ल्याउने विषयमा नीतिगत रुपमा व्यवस्था गरिने उल्लेख गरे ।