मन्त्रालयको बजेटले लुँडो, चेस र बाघचाल मात्रै खेलाउन सकिन्छः मन्त्री श्रेष्ठ



काठमाडाैँ । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालयको बजेटले लुँडो, चेस र बाघचाल मात्रै खेलाउन सकिने बताएका छन् ।

बिहीवार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मन्त्री श्रेष्ठले मन्त्रालयमा बजेट न्युन भएका कारण लुँडो, चेस र बाघचाल मात्रै खेलाउन सकिने बताएका हुन् । उनले देशभरका जनप्रतिनिधि खेलकुदको क्षेत्रमा बजेट माग गर्दै आउने गरेको भन्दै जनप्रतिनिधिको माग अनुसार बजेट दिन नसकिने बताए ।

खेलकुद पूर्वाधारको क्षेत्र समयसापेक्ष रुपले विकास हुन नसकेको उनकाे भनाइ छ । उनले नीतिगत रुपमा खेल क्षेत्रको सुधारका लागि मन्त्रालय लागिरहेको बताए ।

मन्त्री श्रेष्ठले खेल क्षेत्रको सुधार गर्नका लागि राजनीतिक आवद्धता त्याग्नुपर्ने उल्लेख गरे । संघहरु दलहरु अन्तर्गत रहेका भन्दै त्यसले खेल क्षेत्रको विकास हुन नसक्ने उनले बताए ।

उनले दशरथ रंगशाला समय सापेक्ष नभएको भन्दै विदेशीहरुले भने अनुरुपको मापदण्ड रंगशालामा कायम गर्न नसकिएको जानकारी दिए ।

युवा तथा खेलकुद मन्त्रालय योभन्दा तल जाने ठाउँ नै नरहेको भन्दै अब जे गरेपनि राम्रो हुने उनले बताएका छन् । दशरथ रंगशालामा खेलकुद बाहेकका गतिविधिलाई रोक्नुपर्ने मन्त्री श्रेष्ठकाे भनाइ छ ।

मन्त्री श्रेष्ठले दशरथ रंगशालाको विकल्पको रुपमा काठमाडौं उपत्यकाभन्दा बाहिर रंगशाला बनाउनुपर्नेमा जोड दिए ।