काठमाडौँ । नेपालसँग विदेशी विनिमय सञ्चिती १२.५ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८० ८१ को ९ महिनाको तथ्यांक अनुसार नौ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १५ महिनाको वस्तु आयात र १२.५ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने उल्लेख गरेको हो ।
२०८० चैत मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३३.५ प्रतिशत, १०४ प्रतिशत र २८.९ प्रतिशत रहेको छ । २०८० असार मसान्तमा यी अनुपातहरु क्रमशः २८.८ प्रतिशत, ८३.० प्रतिशत र २५.० प्रतिशत रहेका थिए ।
कुल विदेशी विनिमय सञ्चिति २०८० चैत मसान्तमा १९ खर्ब ११ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ । २०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २४.२ प्रतिशतले बढेको हो ।
अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० चैत मसान्तमा १४ अर्ब ३६ करोड पुगेको छ । २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा २०८० चैत मसान्तमा २२.७ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८० असार मसान्तमा १३ खर्ब ४५ अर्ब ७८ करोड रुपैयाँ रहेकोमा २०८० चैत मसान्तमा २५.४ प्रतिशतले वृद्धि भई १६ खर्ब ८८ अर्ब २१ करोड रुपैयाँ पुगेको छ ।
बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८० चैत मसान्तमा २ खर्ब २३ अर्ब ६५ करोड रुपैयाँ कायम भएको छ । २०८० असार मसान्तमा १ खर्ब ९३ अर्ब ५९ करोड रहेकोमा २०८० चैत मसान्तमा १५.५ प्रतिशतले वृद्घि भएको हो । २०८० चैत मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.६ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्