आजदेखि नयाँ ब्रोकर कमिसन दर लागू


काठमाडौं । नेपाल धितोपत्र बोर्डले घटाएको ब्रोकर कमिसन दर आजदेखि लागू हुँदैछ । बोर्डको वैशाख २३ गते बसेको सञ्चालक समितिको बैठकले गरेको ब्रोकर कमिसन घटाउने निर्णय आज जेठ १ गतेदेखि लागू भएको हो ।

बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाला तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूचिमा हेरफेर गरी ब्रोकर कमिसन घटाउने निर्णयसँगै अबदेखि नयाँ ब्रोकर कमिसन लागू हुनेछ ।

नयाँ कमिसन अन्तर्गत संगठित संस्थाको सेयरको प्रत्येक खरिद तथा बिक्री कारोबारमा धितोपत्र दलाली वापत लिन पाउने सेवा शुल्क ५० हजार रुपैयाँसम्मको कारोवारमा ०.३६ प्रतिशत कमिसन लाग्ने छ ।

त्यस्तै, ५० हजारभन्दा माथि ५ लाखसम्मको कारोवारमा ०.३३ प्रतिशत कमिसन लाग्ने छ । ५ लाखदेखि २० लाखसम्मको कारोवारमा ०.३१ प्रतिशत कमिशन लागू हुने जनाएको छ । २० लाखदेखि १ करोडसम्मको कारोवारमा ०.२७ प्रतिशत कमिसन लाग्ने छ । १ करोडभन्दा माथी जतिसुकैको कारोवारमा ०.२४ प्रतिशत कमशिन लाग्ने छ ।

यसअघि ५० हजार रुपैयाँसम्मको कारोबारमा लगानीकर्ताले ०.४० प्रतिशत, ५० हजारदेखि ५ लाख रुपैयाँसम्मको कारोबारमा ०.३७ प्रतिशत, ५ लाखदेखि २० लाख रुपैयाँसम्मको कारोबारमा ०.३४ प्रतिशत कमिसन शुल्क लाग्छ ।

त्यस्तै, २० लाखदेखि १ करोड रुपैयाँसम्मको कारोबारमा ०.३० प्रतिशत र १ करोड रुपैयाँभन्दा धेरैमा ०.२७ प्रतिशतसम्म कमिसन शुल्क लाग्छ ।

यसअघि नेपाल धितोपत्र बोर्डले साढे २ वर्षअघि ब्रोकर कमिसन घटाएको थियो । धितोपत्र बोर्ड २०७७ पुस १२ गतेदेखि लागू हुने गरेर ब्रोकर कमिसन ३३% देखि ६०% सम्मले घटाएको थियो ।

ब्रोकर कमिसनलाई घटाउने निर्णय गर्दै धितोपत्र बोर्डका तत्कालीन अध्यक्ष रमेशकुमार हमालको कार्यकालमा बोर्डले २०८० कात्तिक १ गते अर्थमन्त्रालयमा अनुमोदनका लागि सिफारिस गरेका थिए ।