सर्त बुझेर मात्र क्रेडिट कार्ड प्रयोग गर्न राष्ट्र बैंकको आग्रह


काठमाडौँ । नेपाल राष्ट्र बैंकले सर्त बुझेर मात्र क्रेडिट कार्ड प्रयोग गर्न आग्रह गरेको छ । राष्ट्र बैंकले सूचना जारी गर्दै क्रेडिट कार्डको सीम, शुल्क, ब्याजदर, भुक्तानी मिति लगायतका सर्तबारे प्रष्टरुपमा बुझेर मात्र आफुलाई उपयुक्त हुने किसिमको कार्ड सम्बन्धित संस्थाबाट मात्र गर्नुपर्ने उल्लेख गरेको छ ।

क्रेडिट कार्ड क वर्गका वाणिज्य बैंक तथा राष्ट्रियस्तरका ख र ग वर्गका वित्तीय संस्थाले जारी गर्ने गर्दछन् । राष्ट्र बैंकका अनुसार क्रेडिट कार्डको प्रयोग गरी रकम भुक्तानी गर्दा तोकिएको समयसीमासम्म कुनै ब्याज लाग्दैन तर सो मितिमा भुक्तानी नभएसम्म उच्चदरको ब्याज लाग्ने गर्दछ ।

क्रेडिट कार्ड जारी गर्दा यसको सीमा, कारोबारको बिल प्राप्त हुने मिति र माध्यम,, भुक्तानी गर्नुपर्ने समयावधि, सो अवधिभित्र भुक्तानी नगरेमा लागू हुने ब्याजदरको जानकारी उपलब्ध गराई ग्राहकसँग सम्झौता गर्नुपर्ने र उक्त सम्झौता ग्राहकलाई समेत बैंकले उपलब्ध गराउनुपर्ने राष्ट्र बैंकले जनाएको छ ।