१ हजार युवालाई स्टार्टअप व्यवसाय गर्न सरकारले सहुलियत कर्जा दिने


काठमाडाैँ । सरकारले आगामी आर्थिक वर्ष एक हजार जना युवालाई स्टार्टअप व्यवसाय सञ्चालन गर्न सहुलियत कर्जा दिने भएको छ ।

सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष कम्तिमा एक हजार युवालाई स्टार्टअप व्यवसाय सञ्चालन गर्न सहुलियत कर्जा प्रदान गरिने बताएका हुन् । उनले नवप्रवर्तन र स्टार्टअप राष्ट्रिय अभियान सञ्चालन गरिने पनि जानकारी गराए ।

तीन तहका सरकारका साथै निजी क्षेत्रको सहकार्यमा राष्ट्रिय स्टार्टअप उद्यम नीतिको कार्यान्वयन गरिने पनि उनले बताए । स्टार्टअप व्यवसायको विकास र प्रवद्र्धन गर्न प्राज्ञिक संस्थाहरु सँग सहकार्य गरिने सरकारको नीति रहेको उनले उल्लेख गरे ।

त्यस्तै आगामी आर्थिक वर्ष कम्तिमा एक हजार लघु, घरेलु तथा साना उद्योगीलाई ब्याजमा अनुदान तथा प्रविधि उपलब्ध गराइने पनि सरकारको नीति रहेको बताइएको छ । लघु, घरेलु एवं साना उद्योगीले एक ठाउँमा मात्र दर्ता गरी व्यवसाय सञ्चालन गर्न सक्ने व्यवस्था गरिने भएको छ ।