निर्यात सम्भाव्यता भएका राष्‍ट्रसँग द्विपक्षीय व्यापार तथा लगानी सम्झौता गरिने


काठमाडौँ । सरकारले निर्यात सम्भाव्यता भएका राष्‍ट्रसँग द्विपक्षीय व्यापार तथा लगानी सम्झौता गर्ने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै निर्यात सम्भाव्यता भएका राष्‍ट्रसँग द्विपक्षीय व्यापार तथा लगानी सम्झौता गरिने बताएका हुन् । उनले अन्तर्राष्‍ट्रिय व्यापारको सम्भावनाका आधारमा वस्तुगत र देशगत निर्यात रणनीति अपनाइने उल्लेख गरे ।

व्यापार सूचना र बजार अनुसन्धानको संस्थागत क्षमता वृद्धि गरिने, निर्यात हुनसक्ने विशेष प्रकृतिका बाली तथा वस्तुको भौगोलिक सङ्‍केत मापदण्ड तयार गरिने उनले बताए ।

निर्यातको सम्भावना भएका थप वस्तु तथा सेवा पहिचान गरी उत्पादन वृद्धि, बजारीकरण र मूल्य तथा आपूर्ति शृङ्‍खलामा आबद्ध गरिने उनले बताएका छन् ।

निर्यातमुखी उत्पादन क्षेत्र घोषणा गरी कृषि उपज, दुग्ध तथा मासुजन्य पदार्थ एवम् औद्योगिक उत्पादन निर्यातका लागि प्रविधि र प्राविधिकसहित प्रदेश र स्थानीय तहहरूलाई प्रोत्साहन गरिने उनले बताए ।