दूरसञ्चार पूर्वाधारको लागत कम गर्न सहप्रयोगको नीति ल्याउने तयारी छः मन्त्री शर्मा


काठमाडौंँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले दूरसञ्चार पूर्वाधारको लागत कम गर्न सहप्रयोगको नीति ल्याउने तयारी गरिरहेको बताएकी छन् ।

विश्व दूरसञ्चार तथा सूचना समाज दिवसको अवसरमा नेपाल दूरसञ्चार प्राधिकरणले आयोजना गरेको दूरसञ्चार सम्मेलन उद्घाटन गर्दै मन्त्री शर्माले ऐन संशोधनमार्फत सहप्रयोगको नीति अघि सार्न थालिएको बताएकी हुन् ।

“दूरञ्चार क्षेत्रमा सुशासन स्थापित गर्दै पूर्वाधार विकासलाई मुख्य ध्यान दिएर दूरसञ्चार ऐन संशोधनको काम भइरहेको छ । दूरसञ्चार पूर्वाधारमा देखिएको दोहोरो तेहरो लगानीको अवस्थालाई अन्त्य गरी पूर्वाधार सहप्रयोगका नीति अघि सार्ने तयारी गरिएको छ”, उनले भनिन्,”यसबाट दूरसञ्चार पूर्वाधारमा लागत घट्ने र सेवालाई थप प्रभावकारी बनाउँदै उपभोक्ताबाट लिने शुल्क घटाउन सकिन्छ भन्ने विश्वास लिएका छौं ।”

सेवा प्रदायकबाट पनि पनि कूल आम्दानीको हिसाबले वार्षिक दस्तुर लिने गरी समान व्यवहारको नीति लागु गर्ने उनले स्पष्ट पारिन् ।साइबर स्पेसलाई सुरक्षित र व्यवस्थित गर्ने उद्देश्यले पहिलोपटक राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० जारी गरिएको छ भने राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना भएको जानकारी दिंदै उनले सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक तर्जुमाको काम भइरहेको बताइन् ।

गएको एक वर्षको बिचमा अनुमतिपत्र बहाल नरहेका दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली संशोधन गरेर प्रयोग नभएको रेडियो फ्रिक्वेन्सी स्वतः फिर्ता हुने र सीमित प्राकृतिक स्रोतको रुपमा रहेको राज्यको महत्वपूर्ण सम्पत्ति रेडियो फ्रिक्वेन्सीको दूरुपयोग रोक्न नीतिगत व्यवस्था गरिएको पनि उनले जानकारी दिइन् ।

मन्त्री शर्माले व्याण्डविथ खरिदलाई थप प्रतिष्पर्धी बनाउँदा नेपाल टेलिकमको मात्रै औसतमा वार्षिक डेढ अर्व वचत हुने अवस्था सिर्जना भएको र सेवा प्रदायकको लागत कम हुँदै जाँदा उपभोक्ताले तिर्ने शुल्क घटाउँदै लैजान सकिने बताइन् ।

मन्त्री शर्माले सरकारले सुशासनका पक्षमा लिएको अडान र नीतिगत सुधारका कारण राजश्वमा समेत वृद्धि हुन थालेको जानकारी दिइन् । “गत आर्थिक वर्षमा कूल राजश्व ७ अर्व ९० लाख संकलन भएकोमा चालु आर्थिक वर्षको दश महिनाकै अवधिमा ७ अर्ब ४२ करोड राजश्व संकलन भएको छ”, उनले भनिन्, “यसबाट हामीलाई सुशासनका पक्षमा दृढतापूर्वक उभिंदा नजिता प्राप्त गर्न सकिन्छ भन्ने गहिरो विश्वास पैदा भएको छ ।”

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भुपेन्द्र भण्डारीको अध्यक्षतामा भएको सम्मेलनमा विश्व दूरसञ्चार संघका प्रतिनिधिसहित यस क्षेत्रका विज्ञ र सरोकारवालाको सहभागिता रहेको थियो ।