सत्तापक्ष सहकारी समस्या समाधान गर्न गम्भीर भएनः काँग्रेस


काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सत्तापक्ष सहकारी समस्या समाधान गर्न गम्भीर नभएको आरोप लगाएको छ । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली काँग्रेसका सांसद जीवन परियारले यस्तो आरोप लगाएका हुन् ।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउन सकारात्मक भएपनि सत्तापक्षका अन्य राजनीतिक दलहरु गम्भीर नभएको बताए ।

उनले भने ‘नेपाली काँग्रेसले लामो समयदेखि सहकारी पीडितहरु, वचतकर्ताहरुको वचतको सुरक्षा र ति पीडितहरुले अविलम्व आफ्नो वचत रकम फिर्ताको सुनिश्चितता खाजेको हो।’

उनले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले गोरखा मिडिया नेटवर्कमा रहँदा विभिन्न सहकारीबाट करोडौँको रकम गोरखा मिडिया नेटवर्कमा र गोरखा मिडिया नेटवर्कमा विभिन्न कम्पनी र व्यक्तिमार्फत रकम पुगेको बारेमा अनुसन्धान गर्न माग गर्दै आएको बताए ।

‘अहिले ५/६ दर्जन सहकारी संस्थाहरुले रकम अपचलन गरेको कुरा हामीले सुन्दै आएका छौँ ‘ उनले भने, ‘लाखौँ लाख वचतकर्ताहरुको रकम कसरी वचतकर्ताहरुको हातमा पुग्छ, पहिलो प्राथमिकता छ । हामीले माननीय उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेजीले गोरखा मिडिया नेटवर्कमा रहँदा विभिन्न सहकारीबाट करोडौँको रकम गोरखा मिडिया नेटवर्कमा र गोरखा मिडिया नेटवर्कमा विभिन्न कम्पनी र व्यक्तिमार्फत रकम पुगेका छन् । त्यसको सही ढंगबाट छानबिन हुनुपर्छ भन्ने नेपाली काँग्रेसको धारणा हो ।’