बजेटको आकार स्रोत अनुमान समितिले दिएको नयाँ सिलिङभित्रै छ: गभर्नर अधिकारी


काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मंगलवार सरकारले ल्याएको बजेटको आकार स्रोत अनुमान समितिले दिएको नयाँ सिलिङभित्र नै आएको बताएका छन् ।

बुधवार सिंहदरबारस्थित अर्थ मन्त्रलायमा मंगलवार संघीय संसदमा पेस गरेको बजेटका विषयमा अन्तरक्रिया कार्यक्रममा सञ्चारकर्मीहरूको प्रश्नको जवाफ दिँदै यस्तो बताएका हुन् ।

उनले बजेट भाषणको अघिल्लो दिन स्रोत अनुमान समितिले बजेटको सिलिङ बढाएको बताए । गभर्नर अधिकारीले कानूनअनुसार नै माघमा गरिको बजेट अनुमान पछिल्लो चार महिनामा भएका विकासक्रमका आधारमा पुनरावलोकन गरेको स्वीकार गरे ।

उनले स्रोत समितिमा व्यापक छलफल गरेर जेठ १४ गते कानूनी व्यवस्थाअनुसार सिलिङ पुनरावलोकन गरिएको उल्लेख गरे । उनले विशेष गरी दातृ निकायको प्रतिवद्धताअनुसार वैदेशिक अनुदानमा बढोत्तरी हुने अर्थ मन्त्रालयको अनुमान र प्राकृतिक स्रोत तथा वित्त आयोगले यसअघि आँकलन गरेको भन्दा बढी आन्तरिक ऋण उठाउन सक्ने बाटो देखाएकाले स्रोत पुनरावलोकन गरिएको उल्लेख गरे ।

उनले प्राकृतिक स्रोत तथा वित्त आयोगले आँकलन गरेको ३ खर्ब ३० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य राखिएको बताए । उनले डेब्ट टु जीडीपी अनुपातका आधारमा आगामी आवको बजेट भएकाले आगामी आवकै जीडीपीको अनुपातमा आन्तरिक ऋणको लक्ष्य राखिएको बताए ।

उनले गत वर्षको मध्यमकालीन खर्च संरचनाअनुसार यस वर्ष साढे १९ खर्बको बजेट आउनुपर्ने भएपनि बजेट सानो आकारमा आएको बताए ।