वैकल्पिक विकास वित्त परिचालन नियमावली २०८३ स्वीकृत, यस्ता छन् मन्त्रिपरिषद वैठकका निर्णय


काठमाडौं । सरकारले वैकल्पिक विकास वित्त परिचालन नियमावली, २०८३ स्वीकृत गरेको छ।

सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नियमावली स्वीकृत गरिएको जानकारी दिएका हुन्।

उनका अनुसार नगरपालिकामा स्वच्छ ऊर्जा रूपान्तरणलाई प्रवद्र्धन गर्ने कार्यक्रमका लागि नर्वेजियन सरकारबाट प्राप्त हुने करिब १० करोड नेपाली रुपैयाँ बराबरको अनुदान सहायता स्वीकार गर्न स्वीकृति दिने निर्णय पनि भएको छ।

सरकारले नेपाल इन्जिनियरिङ सेवा, गठन, समूह तथा श्रेणी विभाजन र नियुक्ति दोस्रो संशोधन नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ।

जेन–जी आन्दोलनसँग सम्बन्धित घटनामा फौजदारी अभियोग भएका मुद्दा फिर्ता गर्न सकिने वा नसकिने सम्बन्धमा छानबिन गरी सिफारिस गर्न पूर्वन्यायाधीश बाबुराम रेग्मीको अध्यक्षतामा गठित समितिले पेस गरेको प्रतिवेदन आवश्यक कार्यार्थ गृह मन्त्रालयमा पठाउने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।

त्यस्तै, सहसचिव पद्मकुमार मैनालीलाई नेपाल इन्जिनियरिङ सेवाअन्तर्गतको सचिव पदमा बढुवा गरी पूर्वाधार विकास मन्त्रालयमा पदस्थापन गर्ने निर्णय भएको प्रवक्ता पोखरेलले बताए।

– न्युज एजेन्सी नेपाल