सुनिलस्मृति गाउँपालिकाकाे नीति तथा कार्यक्रम : कृषि उद्यममा ‘सिफ्ट’ गराउने प्रयास



काठमाडौँ । रोल्पाको सुनिलस्मृति गाउँपालिकाले कृषिलाई प्राथमिकतामा राखेर आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

गाउँपालिकाका अध्यक्ष मणिराम बुढाथोकीले सोह्रौँ गाउँसभा अधिवेशनकाे पहिलाे बैठकमा पेश गरेको आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रममा कृषिको विकास र व्यवसायीकरणमा बढी केन्द्रित गरिएको छ ।

भौतिक पूर्वाधारमा धेरै लगानी भएको र अब कृषि लगायतका उद्यमशीलतामा जोड दिनुपर्ने धारणा राख्दै आएका अध्यक्ष बुढाथोकीले यसपटकको नीति तथा कार्यक्रममा पनि कृषि क्षेत्रकाे विकासलाई प्राथमिकता दिएका हुन् ।

नीति तथा कार्यक्रममा भनिएको छ,“संविधान प्रदत्त अधिकार कृषि प्रसारको सञ्चालन, व्यवस्थापन र नियन्त्रण मार्फत कृषकस्तरमा उच्चस्तरीय प्रविधिको हस्तान्तरण, कृषकको क्षमता अभिवृद्धि तथा कृषकलाई अनुसन्धान कार्यसँग जोड्न विभिन्न कृषकस्तरिय तालिम, गोष्ठि,शिविर सञ्चालन तथा उन्नत प्रविधि प्रदर्शन गरिनेछ ।”

कृषि जैविक विविधताको संरक्षण तथा सम्वर्द्धन, कृषि बालीहरुको उत्पादन र उत्पादकत्व अभिवृद्धि साथै नागरिकको खाद्य तथा पोषण सुरक्षा सुनिश्चित गर्न मौरीपालन व्यवसायलाई प्रवर्धन गरिने नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

दैनिक उपभोग्य कृषिजन्य वस्तुहरुमा गाउँपालिकालाई आत्मनिर्भर बनाई आयात प्रतिस्थापन र निर्यात प्रवर्धन गर्न गाउँपालिका भित्रका सबै सम्भाव्य क्षेत्रहरुको पहिँचान गर्दै मसलाबाली प्रवर्धन कार्यक्रम प्रवर्द्धन कार्यक्रम, व्यवसायिक तरकारी खेति प्रवर्धन कार्यक्रम, व्यवसायिक फलफुल खेती प्रवर्धन कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

अध्यक्ष बुढाथोकीले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा कृषि उपजको उत्पादन, सङ्कलन, भण्डारण र बजारीकरणका लागि गाउँपालिका भित्रका कृषि सहकारीलाई प्रवर्धन गरिने उल्लेख छ ।

गाउँपालिकाले ‘कृषि विकास अभियानःरैथाने बाली हाम्रो पहिचान’ लाई मूल नारा बनाउँदै परम्परागत र पोषणयुक्त रैथाने बालीहरूको संरक्षण गरी खेती विस्तार गरिने उल्लेख छ ।

नीति तथा कार्यक्रममा भनिएको छ,“यस गाउँपालिकामा सदियौंदेखी खेती गरिदै आएका रैथाने बालीहरू जस्तैः कोदो, सिमि, मास, पिडांलु, फापर, भटमास, टिमुर, जुनेली, कागुनो, आलु आदिको उत्पादन बढाउन उत्पादनमा आधारित प्रोत्साहन अनुदानको व्यवस्था गरिनेछ ।”

कृषि उपजको बजार सुनिश्चितताका लागि हाट बजार, कृषि उपज सङ्कलन तथा भण्डारण केन्द्रको स्थापना एवं कृषि एम्बुलेन्स खरिद लगायतका कार्यहरु क्रमशः अगाडि बढाईने नीति तथा कार्यक्रममा उल्लेख छ ।

कृषकहरूको आवश्यकता र मागमा आधारित कार्यक्रम सञ्चालन गर्न बजेट विनियोजन गरिने भनिएको छ ।

नीति तथा कार्यक्रममा भनिएको छ,“प्राङ्गारिक कृषि उत्पादन र उपयोगलाई प्रवर्धन गरी गाउँपालिकालाई विषादि रहित बनाउन विभिन्न कार्यक्रम सञ्चालन गरिनेछ।यसका लागि जैविक मल प्रवर्द्धन तथा गोठे मल सुधार कार्यक्रम, प्राङगारिक मल तथा गड्यौलिमल उत्पादन, प्राङ्गारिक खेती गर्ने कृषकलाई अनुदान, प्राङगारिक प्रमाणिकरणमा सहजिकरण जस्ता कार्यक्रम सञ्चालन गरिनेछ ।”

गुणस्तरीय बीउ विजन तथा तरकारी उत्पादन र उपभोगमा गाउँपालिकालाई आत्मनिर्भर बनाउदै लगिने अध्यक्ष बुढाथोकीको भनाई छ ।

नीति कार्यक्रममा भनिएको छ,“व्यवसायिक कृषकहरुलाई हाईब्रिड बीउ तथा अन्य कृषकहरुलाई उन्नत बीउ अनुदानमा उपलब्ध गराउने नीति अवलम्वन गरिनेछ । कृषि उत्पादनको संभावना पहिचान गरी गाउँपालिका भित्रका सवै वडाहरूमा कृषि तथा पशु पकेट क्षेत्र घोषणा गरी कार्यान्वयन गरिनेछ ।”

पशुपालन व्यवसायलाई व्यासायीकरण तर्फ उन्मुख गर्न कार्यक्रमहरू सञ्चालन गरिने र नश्ल सुधारका लागि कृत्रिम गर्भाधानको कार्यक्रमलाई प्राथमिकता दिइने भनिएको छ ।

नीति तथा कार्यक्रमकाे पूर्ण पाठ :