नयाँ चरणको आर्थिक सुधार गरेर छोड्ने अर्थमन्त्री पुनकाे प्रतिवद्धता


काठमाडाैँ । अर्थमन्त्री वर्षमान पुनले नयाँ चरणको आर्थिक सुधार जरुरी रहेको बताएका छन् । काठमाडौँमा मंगलवार आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले आगामी आर्थिक वर्षको बजेटमा नयाँ चरणको आर्थिक सुधार गरेर छोड्ने प्रतिवद्धता जनाए । उनले तीन खम्बे अर्थनीति कस्तो हुन्छ रु त्यसका मोडल के हुन्छन् ? त्यो कसरी सँगै हिँड्छ ? त्यसमा निजी क्षेत्र कसरी लिडिङ रोलमा हुन्छ ? र कस्तो कस्तो खालको भुमिकामा रहन्छ ? भन्नेकुरा स्पष्ट रूपले सबैले बुझ्ने गरी नीति स्पष्ट गर्ने बताए।

उनले नयाँ चरणको आर्थिक सुधारका लागि राजनीतिक नेतृत्व स्पष्ट रहेको बताए । “राजनीतिक नेतृत्व स्पष्ट छ, कति मान्छेले भन्छन् नि विज्ञ राखेर, केही टेक्निकल मान्छेहरूले नीति बनाइदिएको होइन । नेतृत्वको भिजन, दृष्टिकोण चाहिन्छ यसमा । हामी स्पष्ट छौँ, तीन खम्बे अर्थनीति हुनेछ, निजी क्षेत्र त्यसमा अगाडि रहनेछ ।”

मन्त्री पुनले सरकार फेरिने कुरा स्वभाविक भएपनि नीतिहरुको निरन्तरता हुन आवश्यक रहेको बताए । उनले सरकारमा रहेका दल र विज्ञहरू राखेर मात्र नभइ उच्चस्तरीय आयोग बनाएर नीतिको निरन्तरताको लागि दृष्टिकोणमा प्रस्तुत गर्ने बताए ।