काठमाडौं । बुढानिलकण्ठ लिमिटेडद्वारा सञ्चालित होटेल ‘लेमन ट्री प्रिमियर बुढानिलकण्ठ’ले पाँच तारे होटेलको मान्यता पाएको छ ।
पर्यटन विभागले गरेको अनुगमनमा पाँच तारेको मापदण्ड पुरा भएको पाईएपछि विभागले पाँच तारेको मान्यता दिएको हो । होटेल लेमन ट्री गएको माघ १ गतेबाट सफ्ट लन्च भएर सञ्चालमा आएको हो ।
चार बर्षदेखि निमार्णाधिन यो होटलको कुल लागत २ अर्ब ६० करोड रहेको छ । २ अर्ब ४० करोडमा निर्माण सम्पन्न गर्ने भनिएपनि कोरोना र आर्थिक मन्दीका कारण २० करोड लागत बढेको होटलका प्रवन्ध सञ्चालक बाबुकाजी कार्कीले बताए ।
१३ रोपनी क्षेत्रफलमा निर्माण भएको होटलमा १०२ कोठा रहेका छन् । जस मध्ये ५७ वटा ट्विन्स रुम, ३३ वटा किङ रुम, ६ वटा जुनियर सुइट रुम, ४ वटा बिजनेस सुइट रुम र २ वटा प्रेसिडेन्टल सुइट छन् ।
यी रुममा कुल १९० बेड रहेका छन् । त्यस्तै, अल डे डाइनिङ रेस्टुराँ, स्पेसियालियाटी रेस्टुरेन्ट, ३ वटा मिटिङ रुम, रुफ टप रेस्टुरेन्ट एन्ड बार, हेल्थ क्लब, १ सय ७७ वर्गमिटर र ३१४ वर्गमिटर गरि २ वटा बैंक्वेट हल रहेका छन् ।
त्यसैगरि निकट भविष्यमै सञ्चालनमा ल्याउने उद्देश्य सहित १८ हजार वर्ग फिटको क्यासिनो हल पनि निमार्ण भईरहेको छ । होटलमा हेल्थ क्लब, स्वीमिङ पुल, रुफ टप गार्डेन, स्पा, योग तथा ध्यान केन्द्र रहेका छन् ।
होटल सञ्चालकमा प्रवन्ध सञ्चालक बाबुकाज कार्की सहित अध्यक्षमा डा. राजेन्द्र केसी, अम्बिका पौडेल, हरिप्रसाद पाठक, सिए नवराज बुर्लाकोटी, सिए दीपक पाण्डे, जनक भट्ट, दिपेन्द्र श्रेष्ठ र जलेश्वर पाण्डे रहेका छन्। लेमन ट्री भारतीय प्रसिद्ध ब्राण्ड हो । यसका विश्वका ८० देशमा १५० भन्दाबढी होटेल रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्