पछिल्लो १० महिनामा ५७ प्रतिशतले बढ्यो सेयर कारोबार


काठमाडौं । धितोपत्र दोस्रो बजार (सेकेन्डरी मार्केट)मा पछिल्लो १० महिनामा धितोपत्र कारोबार (सेयर कारोबार) ५७ प्रतिशतले बढेको छ ।

नेपाल स्टक एक्सचेन्जको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको पछिल्लो १० महिना अर्थात् वैशाख मसान्तसम्ममा सेयर कारोबार ५७.११ प्रतिशतले बढेर पाँच खर्ब २७ अर्ब ९२ करोड रुपैयाँ बराबर पुगेको छ ।

सोही अवधिमा दैनिक औसत कारोबार रकम ६२ प्रतिशतले बढेर २ अर्ब ८२ करोड ३१ लाख रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

वैशाख मसान्तसम्म बजार पुँजीकरण ३१ खर्ब ६९ अर्ब ४८ करोड पुगेको छ । जुन गत आर्थिक वर्षको तुलनामा १९ प्रतिशतले बढि हो ।

फ्लोट बजार पुँजीकरण पनि १० खर्ब ७४ अर्ब ६० करोड ५२ लाख पुगेको छ ।

नेप्सेमा वैशाख मसन्तसम्ममा ८ अर्ब २८ करो १३ लाख रुपैयाँ बराबरको धितोपत्र सूचिकृत भएको छ । गत आर्थिक वर्षमा ७ अर्ब ३८ करोड ७ लाख रुपैयाँ बराबरको धितोपत्र सूचिकृत थियो ।

गत आर्थिक वर्षमा कारोबार भएको कुल सेयर सङ्ख्या १ अर्ब २७ करोड ७ लाख रहेको थियो भने वैशाख मसान्तसम्ममा यस्तो सङ्ख्या १ अर्ब ५५ करोड २५ लाख पुगेको छ ।

चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म नेप्सेमा सूचिकृत २७२ कम्पनीको चुक्ता पुँजी ८ अर्ब २८ अर्ब १३ लाख रुपैयाँ रहेको नेप्सेको तथ्यांकमा उल्लेख छ ।

पछिल्लो पाँच वर्षमा नेप्सेमा सूचिकृत कम्पनीको सङ्ख्या २७२ पुगेको छ । आर्थिक वर्ष २०७५ ७६ मा २१५ कम्पनी नेप्सेमा सूचिकृत थिए ।

धितोपत्र दोस्रो बजारको तथ्याङ्कलाई हेर्दा गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा अधिकांश सुचकहरूमा सुधार देखिएको नेपाल धितोपत्र बोर्डले जनाएको छ ।