गाँजा खेती र औषधिजन्य अनुसन्धानका लागि एक महिनाभित्र नियमावली बन्छ: गृहमन्त्री लामिछाने


काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले गाँजाको औषधिजन्य प्रयोगका लागि एक महिना भित्र आवश्यक कानूनी प्रवन्ध गर्ने बताएका छन् ।

आफ्नो मन्त्रालयले सय दिनमा गरेको कामबारे जानकारी दिन शुक्रवार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले साे कुरा बताएका हुन् ।

औषधिजन्य प्रयोजन र औद्योगिक प्रयोजनका लागि गाँजाको लिगलाईजेशनका लागि नीति बनाउनु पर्ने उल्लेख गर्दै उपप्रधानमन्त्री लामिछानेले त्यसका लागि एक महिना भित्र त्यसको एउटा राम्रो कानूनी प्रावधान निर्माण गर्ने बताए । त्यसैगरी उनले कानूनी प्रवन्ध हुनसाथ निश्चित क्षेत्रमा त्यसको अनुसन्धानको काम पनि सुरू गर्ने बताए ।

उनले भने,”विपद व्यवस्थापनका लागि कमान सेन्टर स्थापना गरिएको छ । त्यसैगरी यो औषधिजन्य प्रयोजन र औद्योगिक प्रयोजनका लागि गाँजाको लिगलाईजेशनका लागि हामीले बनाउनुपर्ने नीति बनाउनुपर्ने हुन्छ । त्यसका लागि एक महिनाको समय भनेर हामी भनिसकेका छौं । गृह मन्त्रालयले एक महिना भित्र त्यसको एउटा राम्रो कानूनी प्रावधान निर्माण गर्नेछ ।”

उपप्रधानमन्त्री लामिछानेले विपद् व्यवस्थापनका लागि पनि देशभर आवश्यकअनुसार कमान सेन्टर स्थापना गरी काम सुरू गरिएको पनि बताए ।