विद्यार्थीलाई बर्नहार्ट कलेजको उपहार, २५ जनाले निःशुल्क अध्ययनको अवसर पाउने


काठमाडौँ । काठमाडौँ बर्नहार्ट विद्यालय तथा कलेजले २५ जना विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने घोषणा गरेको छ । काठमाडौँको वल्खुमा रहेको कलेजले आगामी शैक्षिक सत्र कक्षा ११ मा भर्ना हुनका लागि आउने विद्यार्थीहरुलाई लक्षित गर्दै यस्तो घोषणा गरेको कलेजका प्रबन्ध निर्देशक नवराज अधिकारीले जानकारी दिए ।

“कलेज २५ औं बर्षमा प्रवेश गरेको अवसर पारेर कक्षा ११ मा भर्ना हुन आउने विद्यार्थीहरूलाई लक्षित गरेर हामीले यस्तो योजना बनाएका हौ,” अधिकारीले भने ।

कक्षा ११ र १२ दुबैमा लागु हुने पूर्ण छात्रवृत्ति योजना प्राप्त गर्नका लागि माध्यामिक शिक्षा, एसईई परीक्षामा ४ जिपिए अनिवार्य गरिएको छ । कलेजको यो घोषणासँगै ४ जिपिए ल्याएका पहिला भर्ना हुन आउने २५ जनाले काठमाडौँ बर्नहार्ट विद्यालय तथा कलेजमा कक्षा ११ र १२ निःशुल्क अध्ययनको अवसर पाउने छन् ।

उच्च शिक्षाको पहिलो ढोका मानिने एसईई परीक्षामा राम्रो अंक प्राप्त गरेर पनि उच्च शिक्षा अध्ययन गर्नबाट बञ्चित विद्यार्थीहरुका लागि यो योजनाले विद्यार्थीहरुको भविष्यलाई साकार बनाउन मद्दत गर्ने क्याम्पस प्रशासनको अपेक्षा रहेको छ ।