सरकार देश र जनताको पक्षमा छैनः सांसद महत


काठमाडाैँ । नेपाली काँग्रेसका सांसद डा. प्रकाशशरण महतले अहिलेको सरकार देश र जनताको पक्षमा नरहेको बताएका छन् ।

बिहीवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले प्रधानमन्त्री पुष्पकमल दाहालले संसदमा आज दिनुभएको जवाफले पनि सोकुरा प्रमाणित गर्ने बताए ।

उनले कार्यविधिमा तीन करोड भन्दा तलको आयोजना केन्द्र सरकारले नराख्ने भनेपछि किन राखिएको भन्दै प्रश्न गरे । यसले सरकार जनताप्रति जिम्मेवार नरहेको प्रमाणित हुने उनले बताए ।

प्रधानमन्त्री दाहालले तीन करोड भन्दा तलका आयोजना प्रदेश र स्थानीय तहले गर्नेकुरा आजको मन्तव्यका क्रममा राखेपनि केन्द्रमा राखिसकेपछि कसरी प्रदेश र स्थानीय तहले काम गर्छन् ? भन्दै प्रश्न गरे ।  

“देश जनताको पक्षमा यो सरकार छैन । यसले सक्दैन । आजै प्रधानमन्त्रीको जवाफ, उहाँले के भन्दै हुनुहुन्थ्यो भने तीन करोड भन्दा तलका आयोजनाहरु जुन कार्यविधिमा केन्द्रले नराख्ने भनिएको छ,” उनले भने, “केन्द्रमा राखिएको छ र त्यो प्रदेश र स्थानीयले गर्छ भन्नुभयो । एक करोड भन्दा तलका आयोजना मात्रै ५५ अर्बका छन् । तीन करोड भन्दा तलको खर्बौं नाघ्छ । त्यो सबै स्थानीय र प्रदेशले गर्ने हो भने केन्द्रमा किन राखेको ? यो सरकार जिम्मेवार छैन ।”

उनले नेपाली काँग्रेस बिना जिम्मेवारीपूर्ण ढंगबाट देशको विकास सम्भव नरहेको उनकाे भनाइ छ ।